कोरोना भाइरसको संक्रमण कम गर्न सरकारले बन्दाबन्दी गरेको डेढ महिना बढी भइसकेको छ । यसले संक्रमण फैलिन नदिन ठूलो भूमिका खेलेको छ । सरकारले कोरोना नियन्त्रणका लागि गरेको सबै भन्दा फलदायी काम वा निर्णय यत्ती मात्र हो भन्दा फरक पर्दैन । यति लामो समयसम्म नागरिकको गतिविधि नियन्त्रण हुँदाको समयलाई सरकारले गर्नु पर्ने तयारी भने शुन्य जस्तै देखिएको छ । भाइरसले समाजलाई भित्रभित्रै निकै जोखिमपूर्ण बनाईरहेको आभास पछिल्लो समयमा देखिएको संक्रमणबाट भएको छ ।
लामो समयको बन्दाबन्दीको समयमा विदेशबाट आएकाहरुको व्यापक परिक्षण भइसक्नु पर्ने थियो । त्यस्तै जसलाई संक्रमण पुष्टि भएको छ उनीहरुका सम्पर्क व्यक्तिहरु पत्ता लगाई परिक्षण हुनु पर्ने थियो । तर सरकारले लकडाउन मात्र गर्यो तर अन्य तयारी गरेको छैनन् भन्ने कुराको प्रमाण परिक्षण सामाग्रीहरुकै अभावले देखाएको छ ।
विश्वमा कोरोना महामारीका रुपमा फैलँदै छ भन्ने कुराको जानकारी नेपाललाई चार महिना अघिदेखि नै भएको हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाल पनि उच्च जोखिममा छ भनेर जानकारी गराएपछि सरकारले तयारी सुरु नगर्दा नेपालमा यतिबेला परिक्षण समाग्रीको आभाव भएको हो । विश्वभर नै महामारी भएकाले कोरोना परिक्षणका लागि आवश्यक उपकरणदेखि किट जस्ता सामानको अभाव स्वाभाविक हो । तर पनि पहिलादेखि नै तयारी गरेको भए यतिबेला अभाव पक्कै पनि हुने थिएन ।
लामो समय त स्वास्थ्यकर्मीहरुका लागि सुरक्षा सामाग्री नै व्यवस्थापन हुन नसक्दा निकै अन्यौल भएको थियो । जेनतेन त्यसको व्यवस्थापन भयो तर दु्रत्ततररुपमा परिक्षण गर्नुपर्ने समयमा यतिबेला परिक्षण किटकै अभाव भएको छ । जुन ठाउँमा बढी संक्रमण देखिएको छ । त्यहाँका नागरिकहरुको परिक्षण आवश्यक छ । त्यसका लागि स्थानीयदेखि प्रदेश सरकारहरुले संघीय सरकारसँग गुहार मागिरहेका छन् ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरित भए पनि नेपाल आएका र्यापिट डाइग्नोस्टिक टुल्स (आरडीटी) प्रयोगमा नै थिए । तर त्यसको पनि यतिबेला अभाव भएको छ । विशेषगरी गाईघाट, बीरगन्ज तथा नेपालजन्जमा धेरै भन्दा धेरै परिक्षण गर्नुपर्ने देखिएको विज्ञहरुले सुझाव दिईरहेका छन् । तर आरडीटी वा पीसीआर दुबै प्रकारका किटको अभाव छ । किन यस्तो भयो भन्ने गम्भीर प्रश्न उठेको छ । सरकारको लापरवाही भन्दा लकडाउन गराएर होशियारी अपनाएको देखिन्छ हैन भन्दा अत्यावश्यक सामाग्री लामो समयसम्म पनि व्यवस्थापन हुन सकेको छैन । यसले सरकारी संयन्त्रको काम गर्ने शैली वा क्षमता माथि प्रश्न उठ्नु स्वाभाविक हो ।
हेटौँडामा रहेको कोराना भाईरस परिक्षण ल्याबमा पनि पीसीआर परिक्षण किट अभाव भएको छ । किट अभावामा स्वाब परिक्षण समेत प्रभावित भएको छ । किटको अभाव भएपछि आईसोलेशनमा रहेकाहरुको परिक्षण प्रभावित भएको देखिन्छ । परिक्षण गरी पोजेटिभ देखिएकाहरुलाई आवश्यक व्यवस्थापन गर्न ढिलाई हुँदा महामारीको संक्रमणले नेपाली समाज पनि नराम्रोसँग प्रभावित हुने खतरा बढ्ने छ । स्वास्थ्य समाग्री खरिदमा अनियमितता भएको आशंकामा आपुर्तिकर्तासँगको सम्झौता रद्द गरी सेनालाई जिम्मा दिएको पनि महिना दिन बढी भएको छ । तर किन सामाग्रीहरु अझै अभाव छन् ?
सत्तारुढदेखि अन्य राजनीतिक दल तथा समुदाय पनि राजनीतिको दाउपेचमा भन्दा कोरोना नियन्त्रणको उपायमा सक्रिय हुन आवश्यक छ । कमजोरी सुधार गर्दै आवश्यकताको परिपुर्ति नगर्ने हो भने विदेशी मुलुकहरुले व्यहोरेको दुर्दशा हाम्रो भागमा पनि आउने छ ।