विनु विश्वकर्मा
हेटौंडाः हेटौंडा बजारमा तरकारीको मुल्य सस्तिएको छ । पछिल्लो दुई हप्तादेखि तरकारीको मुल्य सस्तिएको तरकारी तथा फलफुल व्यवसायी महासंघका पूर्व अध्यक्ष ज्ञान बहादुर गोलेले जानकारी दिनुभयो । असोज÷कात्तिकमा प्रतिकिलो १ सय ५० रुपैयाँसम्म पुगेको गोलभेडा र आलु अहिले सबैभन्दा सस्तो भएको छ ।

हेटौंडाको थोक तरकारी बजारमा गोलभेडा प्रतिकिलो १६ रुपैयाँमा विक्रि भइरहेको छ । गोलभेडाको २० रुपैयाँ प्रतिकिलो खुद्रा मुल्य रहेको व्यापारीको भनाइ छ । त्यसैगरी, थोक बजारमा नयाँ आलु प्रतिकिलो २० रुपैयाँमा विक्रि भइरहेको छ भने खुद्रा ३० रुपैयाँ प्रतिकिलोमा विक्रि भइरहेको तरकारी व्यवसायी श्याम बहादुर मोक्तानले बताउनुभयो । यस्तै, माछे खुर्सानी प्रतिकिलो ९० रुपैयाँ थोक मुल्य र १०० रुपैयाँ प्रतिकिलो खुद्रा मुल्यमा विक्रि भइरहेको उहाँले बताउनुभयो । काँक्रो थोक मुल्य ५० रुपैयाँ र खुद्रा ६० रुपैयाँ रहेको उहाँको भनाइ छ । त्यसैगरी, घिउसिमीको थोक मुल्य ६० रुपैयाँ र खुद्रा मुल्य ७० रुपैयाँ, फर्सी थोक मुल्य ३० रुपैयाँ र खुद्रा मुल्य ४० रुपैयाँ प्रतिकिलो रहेको छ ।

यस्तै, हेटौंडा बजारमा गाजरको थोक मुल्य ३० रुपैयाँ र खुद्रा ४० रुपैयाँ, मुलाको थोक मुल्य १०–१२ रुपैयाँ र खुद्रा ३० रुपैयाँ प्रतिकिलो रहेको छ । त्यसैगरी, काउलीको फल्ने समय पनि भएकोले काउलीको मुल्य पनि सस्तिएको छ । अहिले हेटौंडा बजारमा काउलीको थोक मुल्य २० रुपैयाँ प्रतिकिलो छ भने ४० रुपैयाँ खुद्रा मुल्यमा काउली विक्रि भइरहेको छ । यस्तै, धनियाँ १ सय २० रुपैयाँ, कागती १ सय २० रुपैयाँ, प्याज ४५ रुपैयाँ थोक तथा ५० रुपैयाँ खुद्रा मुल्यमा विक्रि भइरहेको तरकारी व्यवसायी दिलिप चौलागाईले जानकारी दिनुभयो । यस्तै, चाइनिज लसुन १ सय ९० रुपैयाँ थोक तथा २ सय रुपैयाँ खुद्रा, अदुवा ४० रुपैयाँ थोक तथा ८० रुपैयाँ खुद्रा मुल्यमा विक्रि भइरहेको उहाँले बताउनुभयो । हेटौंडा बजारमा रायोको साग १५ रुपैयाँ प्रतिमुठा विक्रि भइरहेको उहाँले जानकारी दिनुभयो । सुपको साग २० रुपैयाँ थोक मुल्य र ४० रुपैयाँ खुद्रा मुल्यमा विक्रि भइरहेको छ ।

यस्तै, च्याउ १ सय ४० रुपैयाँ थोक तथा १ सय ५० रुपैयाँ खुद्रा, हरियो केराउ ४० रुपैयाँ थोक तथा ७० रुपैयाँ खुद्रा मुल्यमा विक्रि भइरहेको व्यापारी चौलागाईले बताउनुभयो । बन्दा १२ रुपैयाँ थोक तथा २० रुपैयाँ खुद्रा मुल्यमा विक्रि भइरहेको उहाँले बताउनुभयो । हाल हेटौंडा बजारमा मकवानपुर जिल्लासँगै बाहिरी जिल्ला तथा भारतबाट तरकारी आयात भइरहेको तरकारी तथा फलफुल व्यवसायी महासंघका पूर्व अध्यक्ष ज्ञान बहादुर गोलेले जानकारी दिनुभयो । उहाँका अनुसार मकवानपुरको मात्रै उत्पादनले हेटौंडा बजार धान्न सक्दैन । बाहिरी जिल्लासँगै अहिले भारतबाट धेरै तरकारी मकवानपुरमा आयात भइरहेकोले पनि तरकारीको मुल्य सस्तो भएको हो ।

हेटौंडाको तरकारी बजारमा मकवानपुरको सामरी, हटिया, हाँडीखोला, भैंसे, कोगटे, कैलाश गाउँपालिकामा उत्पादित तरकारी विक्रिको लागि आउने गरेको उहाँले बताउनुभयो । हेटौंडामा चितवन, बुटवल, वीरगन्जबाट तरकारी आउने गरेको उहाँले जानकारी दिनुभयो । बजारमा रहेको आर्थिक मन्दीको असर तरकारी बजारमा पनि देखिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हेटौंडा उपमहानगरपालिकाले तरकारी बजार नयाँ ठाउँमा सारेपछि विक्रि गर्न समस्या भइरहेको छ । सबैले तरकारी बजार देखेका छैनन् । ठाउँ नदेखेर पनि समस्या भएको छ । तरकारी बजारमा पहिले जस्तो चहलपहल छैन ।”

राप्ती नदिको किनारमा सारिएको तरकारी बजारमा व्यवसायीलाई वर्षाको चिन्ता छ । तरकारी बजारमा नदि छेउमा ड्यामको व्यवस्था र ढलको व्यवस्था हेटौंडा उपमहानगरपालिकाले गरेमा सहज हुने व्यापारीहरुको भनाइ छ । हेटौंडा उपमहानगरपालिकाले तरकारी व्यापारीहरुको सुरक्षाका लागि गार्डको व्यवस्था गरेको उहाँले बताउनुभयो ।