अर्धवार्षिक परीक्षाको समीक्षाका क्रममा सहभागी अभिभावक ।

हेटौंडाः विद्यार्थी भर्ना गर्न जति ध्यान दिइन्छ, विद्यार्थीको नियमित पठनपाठन र शैक्षिकसत्रको अन्तिमसम्म उनीहरुलाई टिकाइराख्ने विषयमा सरोकारवालाको ध्यान पुग्न सकेको हुँदैन । जसका कारण भर्ना भएका विद्यार्थीमध्ये वार्षिक परीक्षासम्ममा १० प्रतिशतसम्म विद्यार्थी अनुपस्थित हुने अवस्था रहन्छ । अधिकांश विद्यालयले विद्यार्थीको ड्रपआउटको समस्या झेलिरहेका बेला मकवानपुरगढी गाउँपालिका–२, शिखरकटेरीस्थित चण्डिका माविले भने अर्धवार्षिक परीक्षासम्म आइपुग्दा सबै विद्यार्थीलाई टिकाइराख्न सफल भएको छ ।

कक्षा १२ सम्म पठनपाठन हुने चण्डिका माविले पुस २१ गतेदेखि सुरु गरी पुस २९ गतेसम्म सञ्चालन गरेको अर्धवार्षिक परीक्षामा ३ सय ३५ विद्यार्थी सहभागी भएका छन् । शैक्षिकसत्रको सुरुवातसँगै भर्ना अभियानमा समेटिएका सबै विद्यार्थी अर्धवार्षिक परीक्षासम्म कायमै रहेको विद्यालयका प्रधानाध्यापक कमल फुयालले जानकारी दिनुभयो । विद्यार्थीले बीचमै पढाई छाड्ने अवस्था देखिए स्थानीय सरकारसँग सहयोग लिई विद्यार्थीका समस्या समाधान गरिदिएर उनीहरुलाई नियमित विद्यालयमा उपस्थित हुने वातावरण बनाइएको प्रधानाध्यापक फुयालको भनाइ छ ।

“बेला–बेलामा विद्यार्थी अनुपस्थित हुने गरेका छन् । त्यस्तो अवस्थामा विद्यार्थीको समस्या बुझेर समस्या समाधान गरी उनीहरुलाई नियमित विद्यालय आउने वातावरण बनाएका छौं”, प्रधानाध्यापक फुयालले भन्नुभयो, “विद्यार्थीको समस्या समाधान गर्न हामीले पालिकासँग सहयोग लिने गरेका छौं ।” विद्यालयले अर्धवार्षिक परीक्षाको नतीजा सार्वजनिक तथा विश्लेषण समेत सम्पन्न गरेको छ । विद्यालयले अभिभावक र विद्यार्थीको सहभागितामा अर्धवार्षिक परीक्षाको नतीजा सार्वजनिक गरेको हो । गत शुक्रबार नर्सरीदेखि ५ कक्षासम्मको नतीजा सार्वजनिक गरेको विद्यालयले आइतबार कक्षा ६ देखि १० सम्मको नतीजा सार्वजनिक गरेको छ । विद्यालयले सोमबार कक्षा ११ र १२ को नतीजा सार्वजनिक गरेको प्रधानाध्यापक कमल फुयालले जानकारी दिनुभएको छ ।

अभिभावकको उपस्थितिमा विद्यालयले परीक्षाको उत्तरपुस्तिका समेत उपलब्ध गराई समीक्षासमेत गरेको हो । अर्धवार्षिक परीक्षाको नतीजा उत्तरपुस्तिका नै देखाएर समीक्षा गरिएको हो । पहिलो त्रैमासिक परीक्षामा भन्दा अर्धवार्षिक परीक्षामा विद्यार्थीको लेखन सुध्रिएको प्रधानाध्यापक फुयालको भनाइ छ । नतीजा सार्वजनिक तथा समीक्षा गर्ने कार्यक्रममा ७५ प्रतिशत भन्दा बढी अभिभावक सहभागी भएको प्रधानाध्यापक फुयालले जानकारी दिनुभयो । कात्तिक महिनादेखि विद्यालयले हरेक साताको आइतबार गणित, मंगलबार अंग्रेजी र शुक्रबार विज्ञान विषयको परीक्षा लिनुका साथै मासिकरुपमा पठनपाठन र परीक्षाको नतीजाको विषयमा समीक्षा गर्ने गरिएको छ । अर्धवार्षिक परीक्षाको नतीजा विश्लेषण गर्दा आफ्ना बालबालिकाको शैक्षिकस्तर सुध्रेको प्रतिक्रिया दिएका छन् ।

चण्डिका माविका विद्यार्थीले घरमा पढ्ने तालिका विद्यालय प्रशासन र अभिभावक दुवैलाई जानकारी गराएका छन् । विद्यालय प्रशासनले अभिभावकलाई आफ्ना बाबुनानी पढे–नपढेको निगरानी गर्न, सहजीकरण गर्न, कमजोर विषयमा ध्यान दिन अनुरोध समेत गरेको छ । अर्धवार्षिक परीक्षाको नतीजा सार्वजनिक तथा समीक्षा गर्ने क्रममा विषयगत शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–अभिभावक संघका पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।