हेटौंडाः मकवानपुर जिल्लाका किसानलाई अनुदानको रासायनिक मल स्थानीय सहकारी संस्थामार्फत वितरण भइरहेको छ । मकवानपुर जिल्ला सदरमुकाम हेटौंडास्थित कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङको शाखा कार्यालयबाट सहकारी संस्थाले मल खरिद गरेर कृषकलाई विक्री गर्ने गरेका छन् । कृषिका लागि सरकारले रासायनिक मल यूरिया, डीएपी र पोटास आंशिक अनुदानमा विक्री वितरण भइरहेको छ । सरकारले अनुदानमा उपलब्ध गराएको मल दैनिक रुपमा वितरण भइरहेको कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङका अधिकारीले जनाएका छन् ।
साल्ट ट्रेडिङले आज बुधबार बिहानै जिल्लाका विभिन्न १४ वटा सहकारी संस्थालाई ५० केजीको आठ सय ४० बोरा यूरिया मल विक्री गरेको छ । अब ती सहकारीले स्थानीय किसानलाई मल विक्री गर्नेछ । यस्तै कृषि सामग्री संस्थानले भने भोलि बिहिबार बिहान चार हजार छ सय केजी यूरिया मल माग गर्ने सहकारी संस्थालाई दामासाहीमा वितरण गरिने संस्थानका स्टोर प्रमुख छवि शर्माले जानकारी दिनुभयो । उहाँकाअनुसार संस्थानको गोदाममा रहेको मलको परिमाणभन्दा धेरै सहकारी संस्थामार्फत माग भएर आएकोले गोदाममा भएको मल नै सहकारीलाई दामासाहीमा वितरण गरिनेछ ।
कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङ दुबैले बीरगन्जबाट मल ल्याएर वितरण गर्ने गरेको छ । हेटौंडा–४, पारिजातपथस्थित कृषक कृषि सहकारी संस्था लिमिटेडका व्यवस्थापक दुर्गाप्रसाद चौलागाईले पर्याप्त मात्रामा रासायनिक मल उपलब्ध भएको र किसानलाई विक्री गरिरहेको जानकारी दिनुभयो । हेटौंडा–१०, राप्तीरोडस्थित खेती किसान कृषि सहकारी संस्था लिमिटेडका सुवास मल्लले भने सहकारीलाई उपलब्ध मलको तुलना कृषकको माग बढी भएको जानकारी दिनुभयो ।
अनुदानको मल वितरणका लागि सहकारीको ठेगानाअनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला मल आपूर्ति व्यवस्थापन समितिले ढुवानी भाडा, लोडअनलोड, अन्य खर्च र नाफा जोडेर विक्री दरमा एकरुपता कायम गरिएको छ । २०६८ सालमा समितिले सहकारीका विक्री दरमा एकरुपता कायम गरिदिएको छ । एक सय केजी मलको ढुवानीमा २० रुपैयाँदेखि एक सय रुपैयाँसम्म ढुवानी खर्च तोक्नुका साथै अन्य खर्च प्रति एकसय केजी ३० रुपैयाँ र सहकारीको नाफा ५१ रुपैयाँ तोएिको छ । जिल्लाका विभिन्न स्थानलाई ११ वर्गमा विभाजन गरेर ढुवानी तथा लोडअनलोडको भाडादर कायम गरिएको छ । यस वर्ष सरकारले यूरिया मल ५० केजीको बोराको सात सय ३५ रुपैयाँ, डीएपी दुई हजार एक सय ७२ रुपैयाँ ५० पैसा र पोटास एक हजार छ सय ८५ रुपैयाँमा विक्री गरिरहेको छ । सरकारले उपलब्ध गराएको मलमा यातायात खर्च, लोडअनलोड, अन्य खर्च र नाफा जोडेर सहकारीले कृषकलाई उपलब्ध गराउनुपर्नेछ ।
रासायनिक मल वितरणमा सहकारी संस्थाले बदमासी गरेर व्यवसायीलाई नै मल विक्री गरेको केही किसानले गुनासो समेत गरेका छन् । यता साल्ट ट्रेडिङ र कृषि सामग्री संस्थाका अधिकारीले भने मलको बोरामा दुबैपट्टी स्पष्टसँग कृषकका लागि अनुदानको मल उल्लेख गरिएकोले सहकारीले व्यवसायीलाई बेच्न सम्भव नभएको बताएका छन् । यस्तै सहकारीले एक पटक लगेको मल कृषकलाई विक्री गरेको भन्ने सम्बन्धित वडा अध्यक्षले प्रमाणित गरेपछि मात्रै दोस्रो चरणको मागअनुसारको मल उपलब्ध गराइने भएकोले सहकारीले बदमासी गर्न नपाउने साल्ट ट्रेडिङ कर्पोरेसनको हेटौंडास्थित शाखा कार्यालयका शिव श्रेष्ठले दावी गर्नुभयो ।