हावाहुरीले छानो उडाएपछि गाउँपालिकाले दिएको जस्ताले छाएको मनहरी गाउँपालिका–५ स्थित घरहरु । तस्वीरः विरु तामाङ ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा हावाहुरीले छानो उडाएका १७ घरलाई जस्ता वितरण गरेको छ । गाउँपालिकासँग रहेको जस्तापाता वितरण गरिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । मनहरी गाउँपालिकामा असिनापानी, हावाहुरीले ३८ घरमा पूर्ण क्षति बनाएको र ५६ घरमा आंशिक क्षति पुर्‍याएको अध्यक्ष उप्रेतीको भनाइ छ । उनीहरुलाई स्टक रहेको ४६ बन्डल जस्ता वितरण गरिएको छ । अन्यको भने विवरण संकलन गरिएको र जस्तापता खरिद प्रक्रियामा रहेको बताइएको छ । बैशाख ५ गतेयता हावाहुरीसँगैको असिनापानीले मनहरी गाउँपालिकाको ५ नम्बर वडा बढी प्रभावित भएको थियो ।

त्यस्तै हावाहुरी र असिनापानीले असर प पुर्‍याएका मकैबाली, तरकारीहरुको क्षतीको विवरण संकलन भैरहेको गाउँपालिका अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । अहिले प्रि–मनसुनका समयमा दैनिक असिनापानी परिरहेकोले क्षतिको क्षेत्रगत विवरण संकलन कार्य भइरहेको बताइएको छ । वास्तविक पीडित किसानहरुलाई जिल्ला प्रशासन कार्यालय मार्फत प्रदेश सरकारबाट क्षतिपूर्ति दिन समन्वय गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । यस्तै देशमा जारी लकडाउन बढेमा अहिले धान रोप्ने सिजन भएकाले बीउ, बिजन उपलब्ध गराउन गाउँपालिका लाग्ने उहाँले बताउनुभयो । यसबारेमा अहिले गाँउपालिकामा छलफल पनि भएको भन्दै मकै तथा धानका बीउहरु गाउँपालिकाबाटै उपलब्ध गराउने व्यवस्था गराउने पनि उहाँले स्पष्ट पार्नुभयो ।