प्रदेश सरकारले उपलब्ध गराएको गाडीमा प्याकेजिङ गरेर तरकारी प्रारम्भिक सहकारी संस्थामा पठाइँदै ।

हेटौंडाः मकवानपुर जिल्लास्थित सहकारी संघ तथा प्रारम्भिक सहकारी संस्थाको पहलमा कृषिउपजलाई किसानको खेतबाट उपभोक्तासम्म सिधै वितरण गर्ने कार्यको सुरुवातमा नै नौ सय प्याकेट तरकारी उपभोक्तामा पुर्‍याइएको छ । आज बिहान कृषि सहकारी संघ मकवानपुरले स्थापना गरेको कृषि मार्टबाट प्याकेजिङ गरेर काउली, मुला, मटरकोसा र हरियो धनियाँ विभिन्न सहकारी संघ तथा प्रारम्भिक सहकारी संस्थालाई वितरण गरिएको थियो । मागको तुलना दुई हजार केजी तरकारी अपुग भएको जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दहालले बताउनुभयो ।

हिजो मंगलबारसम्ममा करिब पाँच टन तरकारीको माग रहेकोमा चार टन मात्रै तरकारी आएको र आजै वितरण गर्दै गर्दा थप एक हजार माग भएको दहालले जानकारी दिनुभयो । कुल चार हजार चार सय ४० केजी तरकारी प्रतिप्याकेट चार केजी छ सय ग्राम बनाएर वितरण गरिएको थियो । प्रतिप्याकेट एक सय १५ रुपैयाँका दरले उपभोक्तालाई विक्री गरिएको कृषि सहकारी संघ मकवानपुरका व्यवस्थापक नरेश आचार्यले जानकारी दिनुभयो । बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको दुईवटा गाडीमार्फत तरकारी सहकारी संघ तथा प्रारम्भिक सहकारी संस्थासम्म पुर्‍याइएको थियो ।

पहिलो दिन थाहा नगरपालिकाको बज्रबाराहीबाट ल्याइएको तरकारी वितरण कार्य उत्साहजनक भएको उल्लेख गर्नुहुँदै व्यवस्थापक आचार्यले भन्नुभयो, ‘भोलि बिहिबार जिल्ला सहकारी संघ र अन्य विषयगत संघका व्यवस्थापकहरुको उपस्थितिमा समीक्षा गरेर आगामी दिनमा थप व्यवस्थित रुपमा काम गर्ने गरी योजना बनाइनेछ ।’ कृषि सहकारी संघको कृषि मार्टमै आएर स्थानीय उपभोक्ताले पनि ३२ प्याकेट तरकारी खरिद गरेका थिए । लकडाउनका कारण किसानले उत्पादन गरेको तरकारीले बजार भाउ नपाउने र उपभोक्ता पनि बढी मूल्य तिर्न बाध्य भइरहेका बेला जिल्लास्थित सरकारी संघहरुले किसान र उपभोक्ताबीच समन्वय गर्ने योजना बनाएका हो । सहकारीले पर्सी शुक्रबार वितरण गर्ने गरी थाहा नगरपालिकाकै चित्लाङ तथा मनहरी गाउँपालिकाबाट पनि लहरेबालीअन्तर्गत करेला, बोडी तथा भ्यान्टा र गोलभेँडा ल्याउने जनाएको छ ।