विद्यालय तहका विद्यार्थीका लागि समाजको चासो र चिन्ता हुनु आश्चर्य जस्तै छ । विद्यार्थीहरु आफ्नो शिक्षा र परिवार भित्रको समयमै व्यस्त रहँदा समाजका विषयमा त्यत्तिधेरै बुझ्ने अवसर पाइरहेका हुँदैनन् । तर, केही विद्यार्थी समाजका बारेमा पनि चासो राख्छन् । आमाको मुख हेर्ने दिन अर्थात आज मातातीर्थ औंसीका दिन मावि तहमा अध्ययनरत विद्यार्थी उत्सव अर्यालले आफ्नो आमाको विषयमा नभई समाजका विभिन्न परिवारभित्रका आमाको पीडालाई आफ्नो कवितामा प्रस्तुत गर्नुभएको छ । ‘आमाको महिमा’ शीर्षकमा उत्सवको कविताः

आमाको महिमा

उत्सव अर्याल

पापी संसार कति सक्छ है मोड फेर्न
माफ गर आमा आउन सकिन तिम्रो मुख हेर्न ।
लकडाउन भएको छ देशैभरि कोरोनाको कहरले
मिलाउन सक्दैन एक आमा र सन्तानलाई यो पापी सहरले ।।

आमा र सन्तानको सम्बन्धको गर्न सकिन्न बयान
सुनेपछि जसको पनि रसाउँछन् होला नयन ।
आमाभन्दा ठूलो योद्धा संसारमा कहिँ छैन
आफ्नी आमालाई खुसीराख्न नसक्ने कायर सन्तान म होइन ।।

बिक्न थाले आजका मानिस पैसा र भेटिमा
बुबा–आमा घरमा भन्दा भेटिन थाले आश्रम र सडकपेटिमा ।
अलिकति कुरा घुस्दैन यो देशका मानिसको खोपडीमा
आफ्ना आमाबाबुलाई फालेर पुर्‍याइदिन्छन् दुःखको झोपडीमा ।।

के यहि हो, यो देशका युवाहरूको पारा
आमा–बाबुसँग कसरी पिछा छुटाउने भनेर सोचिरहेछन् सारा ।
कमाएर के गर्छौ त्यति धेरै धन
आखिरीमा दुखाएर आमा बाबुको मन ।।

(अर्याल हेटौंडा–२, बासुदेवमार्गस्थित बालजागृति इङ्गलिस सेकेण्डरी स्कुलमा मावि तहका विद्यार्थी हुन् ।)