नम्रता लामा (लामा बालिग व्यक्तिको नागरिकताको अधिकार स्थापित गर्ने अभियान्ता हुनुहुन्छ ।)

(सन्दर्भः लैंगिक हिंसाविरद्धको १६ दिने अभियान)

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म हरेक वर्ष लैंगिक हिंसा विरुद्धको १६ दिन अभियान सञ्चालन गरिन्छ । १६ दिने अभियानमा सरकारी तथा गैह्रसरकारी निकायहरुले विभिन्न कार्यक्रम गरेर विशेषगरी लैंगिक हिंसाविरुद्ध सचेतना अभिवृद्धिको प्रयास गरिन्छ । यस वर्ष ‘महिला र बालिकामाथि हुने हिंसाको अन्त्यका लागि एकता अभियान’ भन्ने अन्तर्राष्ट्रिय नारा रहेको छ भने “सभ्य समाजको पहिचानः लैंगिक हिंसा विरुद्धको अभियान” भन्ने राष्ट्रिय नारा कायम गरिएको छ ।

लैंगिक रुपमा हुने जस्तोसुकै हिंसाको अन्त्य हुनुपर्छ भन्नेमा हामी सबै एकमत छौं । तर लैंगिताकै आधारमा अझै पनि अनेक विभेद भएको हामीले देख्दै र सुन्दै आइरहेका छौं । महिला भएकै कारण राज्यबाट नै यहाँ कयौं विषयमा उपेक्षा गरिएको छ । नेपालको मूल कानून संविधानमा पनि बालबालिकाको पहिचानको विषय उल्लेखित छ । बालबालिकाले चाहेको खण्डमा आमाको नामबाट पनि र आमाको थर राखेर पनि कानूनी पहिचान प्राप्त गर्न सक्छन् भन्ने कुरा उल्लेख हुँदाहुँदै पनि व्यवहारिक रुपमा त्यस्तो पाइएको अवस्था छैन । यहाँ त्यस्ता विषयका घटनाहरु आएमा कहिले स्थानीय तहबाट नै समन्वय नहुने वा पन्छिने अवस्था रहेको छ ।

आमाको नामबाट पनि नागरिकता पाउने व्यवस्था कार्यान्वयनमा स्थानीय तहले सहजीकरण गरिदिने हो भने जिल्ला प्रशासन कार्यालयबाट एउटा बालिगले आफ्नो कानूनी पहिचान प्राप्त गर्ने अवस्था रहन्थ्यो । मुलुकको संविधानले आत्मसात गरेको महिलाको अधिकार पनि स्थापित हुने थियो । हरेक पटक कुनै बालिगले आफ्नो आमाको नामबाट कानूनी पहिचान प्रात्त गर्नका लागि सम्मानीय अदालतको ढोका ढक्ढकाउनु पर्ने अवस्था रहेको छ । एउटा बालिगले आफू उहि देशको नागरिक हुँ, मेरो पहिचान यो हो भनेर भनिरह“दा पनि व्यवहारिक समस्या देखाई यस्ता कुराबाट जिम्मेवार निकायहरु पन्छिरहेका हुन्छन् । जसले कति बालिगहरु अझै पनि आफ्नै राज्यमा अनागरिक भएर बाँच्न बाध्य छन् ।

हामी यो भन्दैनौ त्यसरी आमाको नामबाट कानूनी पहिचान लिन आएका हरेकलाई कानूनी पहिचान दिनुपर्छ । राज्यको भौगोलिक अवस्थाको कारण पनि कतिपय स्थानमा त्यो सम्भव नहुन सक्छ । तर स्थानीय तह, स्थानीय व्यक्ति र परिवारको रोहवरमा आएका त्यस्ता बालिगहरुको कानूनी पहिचानका लागि राज्यले सहज वातावरण सृजना गर्नुपर्ने देखिन्छ । भर्खरै सम्पन्न स्थानीय तहको चुनाव र प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा कतिपय बालिगहरुले मतदान गर्न पाएनन् । त्यसैले पनि कानूनी पहिचान प्राप्तिमा भएका व्यवहारिक समस्याहरुलाई सम्बोधन हुन जरुरी देखिन्छ ।

कहिलेकाही वंशजको आधारमा मात्र कुनै पनि बालिगलाई कानूनी पहिचान दिनु कहिँ कतै यो पीतृसत्तामक सोचनै हावी भएर त होइन भन्ने पनि लाग्छ हामीलाई । अतः लैंगिकताकै आधारमा आमाको नामबाट कानूनी पहिचान प्राप्त गर्नका लागि कुनै पनि बालिगले राज्यसँग लामो संघर्ष गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्दछ । नत्र लैंगिक हिंसा विरुद्धको अभियान जति नै चलिरहे पनि महिलाहरु लैंगिकता कै आधारमा विभेद व्यहोरिरहन बाध्य हुनेछन् ।