
हेटौंडाः हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलले भीमफेदी गाउँपालिका–१, किसेडीस्थित दीपक आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । बालजागृतिका विद्यार्थीको सक्रियतामा विद्यालयका विद्यार्थीसँगै संकलित रकम र विद्यालय प्रशासनको समेत सहयोगमा करिब १ लाख रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरिएको हो ।
न्यानो कपडा वितरणको कार्यमा बालजागृतिले रोट्र्याक्ट क्लब अफ हेटौंडा र लियो क्लब अफ मकवानपुर डायमण्डसँगको पनि सहकार्य गरेको थियो । भीमफेदी गाउँपालिकाको ग्रामीण क्षेत्रका विपन्न विद्यार्थीलाई जाडो मौसमको सुरुवातसँगै न्यानो कपडा वितरण गरिएको हो । बालजागृति स्कूल सञ्चालक समितिका अध्यक्ष दिनेश प्रसाद भण्डारी, प्रिन्सीपल विनोद सुवेदी, भाइसप्रिन्सीपल अमुल श्रेष्ठ, विद्यालयको सामाजिक कार्य क्लबकी अध्यक्ष स्रेस्ता विष्टसहितको समूह शुक्रबार दीपक आधारभूत विद्यालयमै पुगेर न्यानो कपडा वितरण गरिएको हो ।

दीपक आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिप कुमार स्याङ्तानको अध्यक्षतामा भएको न्यानो कपडा वितरण कार्यक्रममा वडा सदस्य मुक्ति लामाको प्रमुख आतिथ्य रहेको थियो । बालजागृतिले आगामी दिनमा दीपक आधारभूत विद्यालयको शैक्षिक क्रियाकलापमा निरन्तर सहयोग र सहकार्य गर्ने बालजागृतिका प्रिन्सीपल विनोद सुवेदीले बताउनुभएको छ । दीपक आधारभूत विद्यालयका प्रधानाध्यापक गंगा लामाले प्राप्त सहयोगले विपन्न परिवारका विद्यार्थीलाई राहत मिलेको बताउनुभयो । २०१९ सालमा स्थापित दीपक आधारभूत विद्यालयमा ७ कक्षासम्म पठनपाठन हुन्छ । विद्यालयमा १ सय ७९ जना विद्यार्थी अध्ययनरत छन् ।