पत्रकार सम्मेलनमा साताव्यापी कार्यक्रमबारे जानकारी गराउनुहुँदै अध्यक्ष रामजी अधिकारी ।

हेटौंडाः सहयोगापेक्षी सडक मानवको उद्दार, संरक्षण र परिवारमा पुनर्मिलन गराउँदै आएको मानव सेवा आश्रमले वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्ने भएको छ । हेटौंडा–९, लामसुरेधापस्थित मानवसेवा आश्रमको मुख्यालयमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै साताव्यापी कार्यक्रम बारे जानकारी दिएको छ ।

१० औं वर्ष पार गरी ११ औं वर्ष प्रवेश गरेको खुसियालीमा साताव्यापी कार्यक्रमअन्तर्गत मंगलबार हेटौंडा बजारको मुख्यचोक बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । यस्तै बुधबार आश्रम परिषरमा वृक्षरोपण, बिहीबार आश्रम रहेको धापटोलमा सरसफाई तथा तीज विशेष कार्यक्रम, शुक्रबार सडक आश्रित मानवहरुको उद्दार, शनिबार मुठ्ठीदान संकलन, आइतबार दीप प्रज्वलन र भजन सन्ध्यासँगै स्थापना दिवसको दिन समापन कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र बनाउने महाअभियानमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारको साथ र सहयोग रहेको अध्यक्ष अधिकारीले बताउनुभयो । २०८० सालसम्म देशभर आश्रमको भवन निर्माण कार्य सम्पन्न तथा २०८१ मा सहयोगापेक्षी सडक मानवहरुको बारेमा बृहत अन्तरक्रिया कार्यक्रम गरी सडक मानवलाई व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो । यस्तै २०८२ मा देशलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र घोषणा गरिने उहाँले जानकारी दिनुभयो ।

मानवसेवा आश्रमको १९ वटा जिल्लामा २३ शाखा रहेको जानकारी गराउनुहुँदै एक हजार ६ सय जना वृद्धवृद्धा र बालबालिक आश्रित रहेको जानकारी दिनुभयो । भुटनदेवी चौरमा मंसिर २२ गते नेपथ्य लाइभ कन्सर्ट हुने बताउनुभयो । आगामी मंसिर १६ गतेबाट पुस १६ गतेसम्म एक महिना देशको १० शहरहरुमा ‘मानवताका लागि सङ्गीत’ कार्यक्रमको तयारी सुरु भइरहेको बताउनुभयो ।