झोलालाई पनि झोलाभित्र खाँदेर भिर्ने अर्को झोला झोला नै हो । खोलेर हेर्नुहोस् झोलाको चित्रभित्र विचित्र पाइन्छ । बालबालिकाले किताबदेखि डाइपरसम्म त कर्मचारीले ल्यापटपदेखि चित्रगुप्त झैं बिल भर्पाइसम्म बोक्दछन् ।
जग्गाको पूर्जादेखि घुस्याहाको ऊर्जासम्ममा झोलाकै भर पर्नु परेको छ । ठोस अनि झोल बोक्नेदेखि धुलो धुवाँ, घामपानी रोक्ने झोलाकै काम हो । यतिका काम लाग्ने भाँडोलाई लिएर मान्छेहरु नाक काट्नेगरी झोले पो भन्दछन् । त्यस्ता झोले र बाबाभोलेसम्मलाई झोला नभई नहुने वस्तु हो भन्न भुसुक्कै बिर्सन्छन् । कतै कतै त नेताका सहयोगीलाई पनि झोले भन्ने उपमा दिने चलन रहेछ । रन्थनिने झोल पिएर बाटो कब्जा गर्दै हिँड्नेदेखि चाप्लुसीका चेलोसम्मलाई पनि झोले भनिँदो रहेछ ।
झोल पिएर झोले भएकाहरुभन्दा भाषण पिएर झोले भएकाहरु खतरनाक मानिन्छन् । आफ्ना आदर्श व्यक्तिका र्याल कढाईलाई पनि अमृत ठान्छन् । घुर्नै परेपछि आफ्ना सांसद जस्तो घुर्नुपर्छ भन्ने बुझेका उनीहरु सांसद घुराईलाई अन्तिम उपलब्धी मान्छन् । झोलासँग सम्बन्ध नै नभएका उनीहरुलाई किन झोले भनियो भन्ने कारणको अत्तो पाउँन कर्मचारीझैँ तलबको पत्तो, आकर्षक भत्तो, निशुल्क लत्तो, गाडी, सचिवालय, सुरक्षासहितको तत्वयुक्त उच्चस्तरीय छानविन आयोग गठन गर्नैपर्ने देखिन्छ ।
मान्छेका कर्मपिच्छे झोलाको कुनै नातोसम्म नपर्ने झोले सम्बोधन भएकोमा झोला आफ्नो नामको पेटेन्ट राइट लिन चाहँदो हो । हुन त मानिसहरु झोलालाई औधी माया पनि गर्दछन् । झोला ढाड, छातीदेखि कम्मरमा भिर्नेदेखि हातमा झुण्डाउने झोला छन् । झोलासँग जहिल्यै रोला झैं गुम्सिएर बस्नु परेको तीतो यथार्थ रहेको छ । तथापि सात्तो गएर कोला कोला गर्नु पर्दा के होला झैं पनि नलागेको होइन ।
झोलाको हातखुट्टा हुँदो हो त झोला आज एक्लाएक्लै बजार बजार डुल्थ्यो । एक्लै चिया पिउँथ्यो, रक्सी दन्काउँथ्यो, आँखा सन्काउँथ्यो, भाषण रन्काउँथ्यो । अझ बारी बाँझो राखेर जिमखानामा ग्यास छोड्थ्यो र ब्वायज, गल्र्स पार्लरतिर आङ मर्काउँथ्यो, आँखिभूइँ तन्काउँथ्यो भन्ने मान्छेले कहिल्यै बुझ्दै बुझेनन् ।
यता झोलाको पीडा पनि कम छैन । चर्पी जाँदा र होटलमा खाँदासम्म एउटै झोला बोकी हिँड्ने बानी परेकासँग झोला आजित छ । ठेक्काको जालझेल र रोक्काको पेलम्पेल अनि साउनको झरी, भेल र भीडभाडको ठेलम्ठेल सबैको सामना झोलाले नै गर्नु परेको छ । यसैले झोला आफूलाई मान्छेले नभएर मान्छेलाई आफू अनुकुल घुमाउने गरेको धारणा बनाउन बाध्य भएको छ ।
सरकारहरु खोला बेच्छन् र किन्नेले बिजुली निकाल्ने बहानामा सुटुक्क किनेर बेपत्ता हुन्छ । मान्छेहरु झोलामा खोला बोकेर बसेका छन् । झोलैबाट खोला बिक्री कतिखेर हुन्छ भन्ने त्यो भित्र बसेको खोलालाई थाहा होला कि नहोला । झोलामा लुकाइएका सबै खोलाबाट बिजुली निकाल्ने हो भने यो मदरल्याण्ड कति छिटै सुन्दरल्याण्ड बन्थ्यो होला भन्ने पनि चिन्ता छ । चिन्ता झोलाभित्रै छ । झोला चिन्ताभित्रै छ । चुनावताका झोलाहरु झनै बिक्री हुन्छन् । कुनै झोला त अरुका ढाड चढुँला भन्दै सड्किएर हिँडेका, काठमाण्डौंको फोहरको डंगुरमा कुहिएका स्याउ, अंगुरसँगै फतक्कै नभएका पनि होइनन् । यसरी झोला एकै चोलामा धार्नी नुनदेखि तोलाका तोला सुन बोक्न पनि प्रयोग हुन्छन् ।
सरकारमा पुग्नासाथ दिल्ली, बेइजिङ र वासिङ्गटन पुग्ने सरकार प्रमुख हेर्दा यस्तो विचार आउँछः कहिले झोलाले सरकार बोक्दोरैछ, कहिले सरकारले झोला बोक्दोरैछ । बोक्ने कुरामा झोला जहिल्यै दोश्रो नम्बरमा पर्दछ । जदौ ।
(लेखक सिस्नुपानी नेपाल मकवानपुरमा आबद्ध हुनुहुन्छ ।)