“ल हेर”, यो ठूलो–ठूलो आलु जति सबै भसक्कै कुहिएछ, यसो यहाँ आएर त्यो कुहिएको आलु छानेर फाले त हुन्थ्यो नि । यसको संगतले अरु सद्दे पनि कुहिने भयो, होइन तपाईं कहाँ हो ?” राधा भान्छा कोठाबाट आफ्नो लोग्नेलाई घुर्की सुनाउँदै कराइन् ।
“कति कराएको ..? के भो ..म यहाँ आलु बारीमा छु”, गोविन्दले जवाफ दिए ।
“होइन अरु केही मतलब छैन है तपाइलाई । बिहान सबेरदेखि बेलुका अबेरसम्म त्यही आलु बारीको मात्र कति स्याहार सुसार गर्नु पर्ने हो ? यहाँ आउनुहोस छिट्टै ।” राधाले भनी ।
गोविन्द कोठा भित्र छिर्दै बोल्यो, ‘होइन के भो ? के–के नि बितेको जस्तो किन कराएकी हो ?’
“यी यहाँ हेर्नुहोस् त यो ठूलो–ठूलो आलु सबै कुहिएछ, यसलाई छानेर फाल्नु होस त ।” राधाले गोविन्दलाई अह्राइन् ।
“कति महत्व छ ती ठूल–ठूलो आलुको । कति सजिलोसँग फाल्ने कुरा गरेको ? त्यो त ठूलो जातको आलु हो, त्यो बीउको लागि राख न ।” गोविन्दले राधालाई भने ।
“हेर हेर बुढोको बुद्धि । ठूलो आलु भनेर पनि राखेको छ, पुरानो आलु भनेर पनि राखेको छ, सद्दे आलु बीउका लागि राखे पो सद्दे आलु फल्थ्यो । सबै आलु एकै ठाउँमा छ्यासमिस गरेर राखेको छ, छुट्याउन नै गाह्रो । यसपालि त अरु नै आलुको बिउ किनेर ल्याउने हो ।” राधाले भनिन् ।
आफ्नो बाउ आमाको कुरा सुनेर छोराले कोठाबाट कराउँदै भन्यो, “होइन यो आलुको खेती बाहेक अरु केही गर्न जानेको छैन है ? यसपालि यो आलु सालु रोपिँदैन मम्मी, कति खानु त्यही कुहिएको आलु । यसपालि त स्वाद फेरिन्छ ।” दाजुको कुरा सुनेर अर्को कोठाबाट बहिनी बोलिन, “हो दाइ तपाइले ठिक भन्नू भयो, हो यसपाली स्वाद फेरिन्छ ।”
छोरा छोरिको कुरा सुनेर राधा बोलिन्, “आलु धेरै खायो भने सुगर लाग्छ भन्छन्, हो यसपाली चाहिँ मलाइ पनि स्वाद फेरौं जस्तो लागिरहेछ ।
तीनैजनाको कुरा सुनेर गोविन्द बोल्यो, “होइन त्यसका लागि त हामीसँग अरु तरकारीको बीउ पनि हुनु पर्यो नि ?”
“बुवा बुवा तपाईं त्यसको केहि चिन्ता लिनु पर्दैन, यी मैले सबै बन्दोबस्त गरेको छु । हेर्नूहोस् त यो भर्खर बजारमा आएको नयाँ नयाँ विभिन्न तरकारीका बीउहरु हो, यसपालि यिनीहरुबाट नै एउटा छानेर रोपौं, हुन्न त ?” छोराले भन्यो ।
हेटौंडा, चौघडा