हेटौंडाः हेटौंडामा नेवारी समुदायको मौलिक संस्कार बेलविवाह अर्थात इहि सामूहिक रुपमा गर्न थालेको ५० वर्ष पूरा भएको छ । मौलिक संस्कृतिको अभ्यासलाई सामूहिक रुपमा सरल र शुलभ तरिकाबाट आत्मसाथ गर्न सुरु गरेको ५० वर्ष पूरा भएको हो । २०२९ सालदेखि हेटौंडामा सामूहिक बेलविवाहको कर्म गरिँदै आएको छ ।
हेटौंडा–१० मा बिहीबार र शुक्रबार दुईदिन बेलविवाहको कर्म गरिँदैछ । यस वर्ष ९१ कन्याको एउटै जग्गे बनाएर बेलविवाह गरिँदैछ । भक्तपुर, बनेपा र पनौतीका गुरुबा र गुरुआमाहरुले बेलविवाह गराइरहनुभएको छ । भक्तपुरका अञ्जन राज राजोपाध्याय, सावित्री राज राजोपाध्याय, पनौतीका सत्यनारायण कर्माचार्य, बनेपाका श्रीकृष्ण जोशी र रामकाजी सेवाचार्यले बेलविवाहको कर्म गराउनुहुँदैछ ।
हरेक वर्ष बसन्त पञ्चमी अर्थात सरस्वती पुजाको दिन आयोजना गरिँदै आएको सामूहिक बेलविवाह कार्यक्रम यस वर्ष भने कोरोना महामारीका कारण बसन्त पञ्चमीमा आयोजना गर्न स्थानीय प्रशासनको स्वीकृति प्राप्त नहुँदा फागुनमा गरिएको हो । इही यज्ञ सुवार्णकुमार बेलविवाह गुठीका प्रमुख हरिशचन्द्र श्रेष्ठले यस वर्षका सामूहिक बेलविवाहका लागि ९१ किशोरी सहभागी छन् । सामूहिक बेलविवाह गराउने गुठीले दुई सय रुपैयाँको दर्ता शूल्क मात्रै लिने गरेको छ । हेटौंडामा आयोजना हुने सामूहिक बेलविवाहमा मकवानपुर जिल्लाका मात्रै नभएर छिमेकी जिल्ला चितवन, बारा, पर्सासँगै रौतहटदेखि किशोरीहरु सामूहिक बेलविवाहमा सहभागी छन् ।