फाइल तस्बिर ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा अन्तर्राष्ट्रिय बालअधिकार दिवसका अवसरमा सरोकारवालासँग बालबालिकाहरुको अन्तरक्रिया कार्यक्रम भएको छ । ग्रामीण जागरण तथा बालसञ्जाल मनहरीको आयोजनामा शुक्रबार कार्यक्रम भएको हो । बालबालिकाहरुले आफ्ना गुनासोहरु सम्बन्धित निकायसँग राख्दै बालबालिकाको हितमा कार्यक्रम गर्न सरोकार निकायलाई ध्यानाकर्षणसमेत गरिएको छ ।

मनहरी गाउँपालिकामा बाल समूह र बाल सञ्जाल गरी ८८ वटा बालसंस्था छन् । जसमा ६ सय ६१ जना बालबालिका बालबालिकाको हकहित तथा अधिकारका निम्ति क्रियाशील रहेका छन् । मनहरीमा मात्र ४५ जना बालबालिकाले बालविवाह गरेको तथ्यांकमा उल्लेख छ । तीमध्ये चार महिनाभित्र मात्र २० वर्ष भन्दा मुनिका १५ जना बालबालिकाले बच्चा जन्माएको बालसञ्जालको अध्ययनले देखाएका छन् ।

उमेर नपुगी विवाह गर्दा १५ जना आमाले सन्तानलाई जन्म दिएको बाल सञ्जालका सल्लाहकार अनुजा गुरुङले बताउनुभयो । मनहरीकै ९ नम्बर वडामा बालविवाह रोक्ने प्रयास गर्दा जनप्रतिनिधिले नै बेवास्ता रहेको गुरुङले बताउनुभयो । १९ वर्षीया बालिकाको बालविवाह रोक्न खोज्दा प्रहरीले समेत २० वर्ष पुग्न १ वर्ष बाँकी रहेको भन्दै बेवास्ता गर्ने गरेको बालअधिकारर्कीहरुको गुनासोे रहेको छ ।

यस्तै भइसकेको विवाहलाई पनि बेवास्ता गरिने पारिपाटीले बालबालिकाको मुद्दामा जनप्रतिनिधिदेखि सम्बन्धित निकायहरु चुकेको त होइन ? भन्ने प्रश्न बालबालिकाले गरेका थिए । मानवीय तथा सामाजिक विकाससँग सम्बन्धित पूर्ण साक्षरतायुक्त, पूर्ण खोपयुक्त, खुला दिशामुक्त तथा बाल विवाहमुक्त विभिन्न अभियान पालिकामा सञ्चालन भएको छ ।

२०७६ साल पुस २८ गते मनहरी नेपालकै पहिलो बालमैत्री गाउँपालिका घोषणा भएको थियो । जसको निरन्तरता एवम् दिगोपनाका लागि पञ्चवर्षीय रणनीति याोजनासमेत तयार पारिएको थियो । ६० प्रतिशतभन्दा माथि बालश्रमिकहरु बालबालिका मनहरीमा रहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय बालअधिकार दिवसका अवसरमा सरोकारवालासँग बालबालिकाहरुको अन्तरक्रिया कार्यक्रम ।

नेपालको संविधानमा १० प्रतिशत बालबालिकाका लागि छुट्टै बजेट उपलब्ध गरिने प्रावधान रहेको छ । पालिकाले भने जम्मा ०.०२ प्रतिशतमात्र बजेट बालबालिकाको क्षेत्रमा प्रयोग गरेका छन् । गाउँपालिकाका लागि ९० करोड बजेट विनियोजन गरिएको छ । नेपालको संविधान २०७२ को भाग ३ मौलिक हकको धारा ३९ मा व्यवस्था भएअनुसार बालमैत्री घोषणाका लागि उल्लेख भएअनुरुप ३९ वटा सूचकांक तोकिएको छ । बालबालिकाहरुले आफ्ना गुनासोहरु सम्बन्धित निकायसँग राख्दै बालबालिकाको हितमा कार्यक्रम गर्न सरोकार निकायलाई ध्यानाकर्षणसमेत गरिएको छ ।

कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बालविवाह गैरकानुनी भएको बताउनुभयो । २० वर्षभन्दा मुनिका उमेरमा विवाह भएको जानकारी भए कारबाही गरिने बताउनुभयो । बालविवाह निरुत्साहनका लागि चुनौतीको विषय रहेको उहाँले बताउनुभयो । सेफडेस्कसँगै पुनस्र्थापना केन्द्र पनि तत्काल सुचारु गर्न सकिने उप्रेतीले बताउनुभयो । विगतको तुलनामा बालविवाह र बालश्रमहरु कम भएपनि शिक्षाको कमी र गरिबीका कारण निरुत्साहित हुन नसकेको अध्यक्ष उप्रतीले बताउनुभयो ।

घरधुरी सर्वेक्षण २०७६ अनुसार मनहरीको कुल घरधुरी ८ हजार ६ सय ५५ वटा रहेको छ । जसअनुसार ४६ हजार ८ सय ५३ जनसंख्यामध्ये १५ हजार ७ सय ३९ जनामात्रै बालबालिका मनहरीमा रहेका छन् । मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले जनप्रतिनिधि भएर हिँड्नसमेत लज्जाको विषय बनिसकेको बताउनुृभयो । विभिन्न अभियानका साथ दिवसहरु मनाइरहँदा बालबालिकाको आधारभूत आवश्यकतामा समेत पालिकाले सहयोग गर्न नसकेकोमा आफूलाई समेत कमजोर महशुस भएको बताउनुभयो । न्यायालयका लागि शाखासमेत नभएकाले अहिले आफ्नो कार्यकक्षबाट काम गर्दै आएको विष्टले बताउनुभयो ।

स्थानीय तहले मात्र बालबालिकाको आवश्यकता परिपूर्ति गर्न नसकेको जनप्रतिनिधिहरुको भनाई रहेको छ । कतिपय विद्यालयमा शुद्व खानेपानीकै व्यवस्था नहुँदा बालबालिकालाई पानी पिउन समस्या रहेको छ । शिक्षा विकास महाशाखा मनहरीका शिक्षा प्रमुख हरिचन्द्र सापकोटाले बालबालिकाको शिक्षामा सक्दो सहयोग गरिने बताउनुभयो । सापकोटाले ४ वटा विद्यालयमा विशुद्ध खानेपानी निर्माणसमेत भएको बताउनुभयो । मनहरी गाउँपालिकामा सामुदायिक ३२ वटा र निजी ८ गरी जम्मा ४० वटा विद्यालय रहेको छ ।