विद्यालय भवनको शिलान्यास गरिँदै ।

हेटौंडाः हेटौंडा—६, चौघडामा रहेको वंशगोपाल माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ । विद्यालयको पुरानो भवन जिर्ण बनेपछि नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले जानकारी दिनुुभयो ।

मदन भण्डारी मार्ग (धरान चतरा–हेटौंडा सडक) विस्तारका क्रममा भत्काउनुपर्ने भवनको क्षतिपूर्तिबापत आउने करिब १ करोड रुपैयाँबाट विद्यालयको भवन निर्माण सुरु गरिएको प्रधानाध्यापक लामिछानेले बताउनुभयो । विद्यालय भवन निर्माणका लागि करिब २ करोड रुपैयाँ लाग्ने अनुमान रहेको उहाँले जानकारी दिनुभयो ।

भवन निर्माणका लागि अपुग रकम स्थानीय र प्रदेश सरकारको समन्वयमा विद्यालय पुनः निर्माणको बजेटबाट जुटाइने प्रधानाध्यापक लामिछानेले बताउनुभयो । १२ कोठाको ३ तल्ले भवन निर्माण हुने उहाँले जानकारी दिनुभयो । भवन निर्माण कार्य चैत महिनासम्म सम्पन्न गरिने लामिछानेले बताउनुभयो ।