२९ वर्षका सन्देश कुसुन्डे ।

हेटौंडाः मकवानपुरमा एक साताको लागि केही खुकुलो बनाएर निषेधाज्ञा थपिएको छ । निषेधाज्ञाकै बिचमा हेटौंडा–१० स्थित मेनरोडको सडकपेटीमा एकजना व्यक्ति जुत्ता सिलाइरहेको अवस्थामा भेटिन्छन् । ती व्यक्ति हुन्, २९ वर्षका सन्देश कुसुन्डे । सरकारले निषेधाज्ञा जारी गरेको अवस्थामा पनि दैनिक बिहान र बेलुकाको हातमुख जोर्नकै लागि मुख्य बजारको आसपासमा जुत्ता सिलाउन साइकलमा आएको बताउनुहुन्छ । ‘हेटौंडा–१९ स्थित बस्तीपुरमा बासोबास गर्छु । घरमा परिवार छ । पालनपोषण त गर्नुपर्‍यो नि’, उहाँ भन्नुहुन्छ– ‘जसकारण विहानदेखि जुत्ता सिलाउने सामान लिएर दैनिक बजार आउने गरेको छु ।’

धादिङको बैरेनीमा जन्मिएका विसुन्डे गाउँमा जन्मे, हुर्केका कारण पढ्न नसकेकोमा गुनासो व्यक्त गर्नुहुन्छ । आफूले राम्रोसँग पढ्न नपाएकाले जुत्ता सिलाउने पेशा गर्न बाध्य भएको भन्दै उहाँले अब यही पेशालाई निरन्तरता दिने जानकारी दिनुभयो । कृषिमा अत्मानिर्भर पनि बन्नु परेकाले कृषि पेशा पनि फुर्सदको समयमा अँगाल्ने उहाँले बताउनुभयो ।

‘एक छोरा र श्रीमती रहेकाले दैनिक खानाको लागि नै ५ सय रुपैयाँ खर्च हुन्छ’, आफूजस्ता तथा आफूभन्दा कमजोर वर्ग पनि भएकाले बिहान र बेलुका खानलाई समेत धौधौ पर्छ भन्नुहुन्छ, कुसुन्डे । सरकारले निषेधाज्ञा जारी गरेको अवस्थामा कति विपन्न वर्ग छन्, कसले के खाँदै छन् र कसरी जीवन निर्वाह गरिरहेका छन् भन्ने तथ्यांक नै सार्वजनिक नगरी निषेधाज्ञा जारी गर्नु गलत भएको बताउनुभयो । घरमा आफ्ना बुबा र आमालाई पाल्नका लागि १३ वर्षकै सानो उमेरबाट जुत्ता सिलाएका कुसन्डे अहिले १६ वर्ष भइसकेका छन् ।

काठमाडौं, पोखरा, हेटौंडालगायत विभिन्न ठाउँमा गएर यस्तो काम गर्दा दिनको बढिमा २ हजार रुपैयाँ कमाउने गरेको उहाँले बताउनुभयो । निषधाज्ञाको बेलामा बढिमा ३ सय रुपैयाँ कमाउँदा खान पनि नपुगेको अवस्था सिर्जना हुन्छ, कोठा भाडा नै महंगो र तरकारीको मूल्य समेत बृद्धि भएको अवस्था हुँदा जीवन निर्वाहमा भने आफूलगायत श्रमिक वर्गहरु कठिनमा रहेको बताउनुभयो ।

‘श्रमिक वर्ग भनेपछि ऋण सहजै उपलब्ध हुँदैन’, कुसुन्डे भन्नुहुन्छ– ‘भए खाने नभए नखानेको अवस्था छ । बजारमा नै मागेर जीवन निर्वाह गर्ने व्यक्तिहरु भएको अवस्थामा सरकारले जन निषेधाज्ञा गराएर गरिबी बढाएकोमा गुनासो गर्नुहुन्छ, कुसुन्डे । सावधानीपूर्वक सबै व्यवसाय खुल्ला गर्नुुपर्ने हो, पसल व्यवसायको कोठा भाडा नै १५ हजारसम्म छ, केही गरेर खानेलाई समेत निषेधाज्ञाले कमजोर बनाएको छ ।

आफ्ना परिवारलाई खुसी पार्न घाम, पानी नभनी सडकको पेटीमा बसेर जुत्ता सिलाउँदै आएका उनी आफू नेपालमा नै बसेर शौचालय सफा गर्न तयार भएको तर विदेशमा भने कहिले नजाने अठोट गर्नुहुन्छ । ‘विदेशमा विदेशिएकाहरुलाई थाहा हुन्छ पीडा, अरुको देशमा रगत र पसिना बगाउनुभन्दा नेपालमा नै केही गरे विकासको गति अगाडि बढाउने बताउनुभयो । यस सन्र्दभमा अहिलेका युवाहरुलाई अनुरोध गर्नुहुदै कुसुन्डे भन्नुहन्छ– विदेश जानुभन्दा नेपालमा नै पैशा कम भयो भनेर विदेशिनु भनेको गलत रहेको र आफ्नै देशमा श्रम गरेर देशको विकासमा सहयोग गर्न अग्राह गर्नुहुन्छ ।