हेटौंडा सामुदायिक आँखा अस्पताल ।

हेटौंडाः कोभिडको प्रभावका कारण हेटौंडा सामुदायिक आँखा अस्पतालले चालु आर्थिक वर्षमा एउटा पनि आँखा शिविरको आयोजना गर्न सकेको छैन । अस्पतालले दैनिक उपचार सेवामा समेत सीमितता कायम गरेको छ । विभिन्न सामाजिक संघ, संस्थासँगको सहकार्यमा हेटौंडा सामुदायिक आँखा अस्पतालले कोभिडका कारण चालु आर्थिक वर्षमा आँखा परीक्षण शिविर आयोजना गर्न नसक्दा सयौं दृष्टिबिहिन लाभबाट बञ्चित हुनु परेको छ ।

गत आर्थिक वर्ष हेटौंडा सामुदायिक आँखा अस्पतालले १५ वटा शिविरको आयोजना गरेको थियो । गत वर्षको शिविरमा पहिचान भएका मोतियाविन्दु पीडित चार सय ९३ जना बिरामी मध्ये चार सय ५१ जना बिरामीको आँखाको शल्यक्रिया गरिएको थियो । चालु आर्थिक वर्षमा शिविरको आयोजना नहुँदा सयौंका संख्यामा मोतियाविन्दु पीडित व्यक्तिले उपचारबाट बञ्चित हुनु परेको छ ।

कोभिडको संक्रमणको जोखिम न्यून भएर सामान्य हुनासाथ शिविरको आयोजना गर्ने हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले बताउनु भएको छ । सामाजिक संघ, संस्थासँगको सहकार्यमा सामुदायिक आँखा अस्पतालले दुर्गम तथा विपन्न नागरिक लक्षित गरी आँखा परीक्षण शिविर गर्दै आएको छ । त्यसरी शिविरमा पहिचान भएका मोतियाविन्दुका विरामीलाई हेटौंडास्थित आँखा अस्पतालसम्म ल्याएर निशूल्क रुपमा मोतियाबिन्दुको शल्यक्रिया गर्नुका साथै उनीहरुलाई घरसम्म फर्कने व्यवस्था समेत गर्दै आएको थियो ।

कोभिड संक्रमणको जोखिमकै कारण आँखा अस्पतालले दिनको ५० जना बिरामीलाई मात्रै सेवा प्रदान गर्दै आएको थियो । केहीदिन यता अस्पतालले दुई सय जना बिरामीलाई सेवा प्रदान गरिरहेको श्रेष्ठले जानकारी दिनुभएको छ । आँखा अस्पतालमा ३ वटा विशेषज्ञ सेवा डा. सुनिल थकालीको नेतृत्वमा प्रदान गरिरहेको छ । (स्वस्तिका न्यौपाने/प्रशिक्षार्थी)