आयुर्वेद औषधालयमा सेवा लिनेहरुको संख्या बढेको छ । चालु आर्थिक वर्षमा गतवर्षको तुलनामा आयुर्वेद औषधालयमा सेवा लिनेहरुको संख्यामा वृद्धि भएको हो । अघिल्लो वर्ष ७ हजार ९ सय ९० जनाले नारायणी अञ्चल आयुर्वेद औषधालयमा सेवा लिएका थिए भने चालु वर्षको ६ महिनाको अवधिमा ५ हजार बढीले सेवा लिइसकेको अवस्था छ । यसले आयुर्वेद औषधि प्रयोग गर्ने नागरिकको संख्या बढेको देखाएको छ । चालु आर्थिक वर्षको पुस महिनामा मात्र अञ्चल आयुर्वेद औषधालयबाट एक हजार ९६ जनाले सेवा लिएका छन् । गतवर्षको पुस महिनामा सेवा लिनेको संख्या आठ सय ७४ जना रहेको थियो । यस तथ्यांकले नागरिकहरुको एलोपेथी सँगै आयुर्वेदतर्फ आकर्षण बढ्दै गएको देखिन्छ ।
विश्वव्यापी महामारी कोरोनाले नागरिकमा आयुर्वेदतर्फ आकर्षण बढेको अनुमान गर्न सकिन्छ । अन्य औषधिको तुलनामा प्रतिरोधी क्षमता वृद्धि गर्ने र शरीरमा नकारात्मक प्रभाव नपर्ने विश्वासका कारण आयुर्वेदिक औषधि प्रयोग गर्नेहरुको संख्या बढेको हो । कोरोना भाइरसको संक्रमण व्यापक रहेको समयमा विभिन्न प्रकारका रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधिहरु विभिन्न संस्थाहरुले निःशुल्क वितरण गरेका थिए । कोरोनाको कुनै औषधि नबन्दैको अवस्थामा आयुर्वेदको प्रयोग निकै फलदायी भएको अनुभवका आधारमा यसको प्रयोगकर्ताको संख्या बढेको देखिन्छ । लामो समयदेखि हेटौंडामा आयुर्वेद औषधालय सञ्चालनमा रहेको भएपनि सेवाग्राहीको संख्या कोरोनापछि बढेको हो । आयुर्वेदप्रति मानिसको विश्वास बढ्दै जानु भनेको स्वास्थ्यप्रतिको थप सचेतनाका रुपमा लिन सकिन्छ ।
पछिल्लो समय आमनागरिकको जीवनशैली परिवर्तन हुँदै गएको छ । जसले अनेक प्रकारका रोगव्याधी निम्त्याउने गरेको छ । मानिस हतारका जीवन जिउन बाध्य छ । उपचार पद्दति छिटो होस् भन्ने इच्छाले आधुनिक औषधिको प्रयोग मानिसलाई सहज हुँदै गएपछि आयुर्वेदको महत्व ओझेलमा परेको हो । त्यसमाथि पनि नीति निर्माताहरुले योग, आयुर्वेद तथा जडीबुटीको महत्व नबुझ्दा यसको प्रयोग गर्ने वातावरण नै बन्न सकेको छैन । आफ्नै मुलुकमा औषधीय गुणयुक्त जडीबुटी पर्याप्त हुँदा पनि महामारीको समयमा यसको खोज, अनुसन्धान हुन सकेको छैन । नेपालका प्राकृतिक जडीबुटी निःशुल्क विदेशिने र महंगो आधुनिक औषधिका रुपमा भित्रने अवस्था नियन्त्रण गर्नु आजको आवश्यकता हो ।
अञ्चल आयुर्वेद औषधालय हेटौंडाले हालसम्म बहिरंग सेवा, प्रयोगशाला सेवा, फिजियोथेरापी, क्षारसूत्र सेवा, पूर्वकर्म÷पञ्चकर्म, योग सेवालगायत निःशुल्क औषधि वितरण गर्नुका साथै परामर्श सेवा दिँदै आएको छ । औषधालयले हेटौंडाको चुरियामाई, हटिया र राक्सिराङको काँकडा आयुर्वेद औषधालयबाट पनि सेवा दिइरहेको छ । यस्तै चालु आर्थिक वर्षमै मकवानपुरका ४ स्थानमा नागरिक आरोग्य सेवा केन्द्र समेत सञ्चालनमा आएको छ । मकवानपुरको थाहा नगरपालिकाको शिखरकोट, कैलाश गाउँपालिकाको कालिकाटार, बागमती गाउँपालिकाको पाँचपाण्डव र बकैया गाउँपालिकाको हात्तिसुँडेमा केन्द्रको उद्घाटन गरिएको छ । जनविश्वास बढ्दै गर्दा सेवा क्षेत्र पनि विस्तार गरे पनि आम नागरिकमा आयुर्वेद सेवाप्रति भरोसा गर्ने अवस्था बनिसकेको छैन । जसरी आधुनिक औषधि र उपचार पद्दतिप्रति मानिसको विश्वास छ, त्यसैगरी आयुर्वेद औषधिप्रति पनि विश्वास जगाउन आवश्यक छ । महंँगो पद्दति विस्थापन गरी स्वदेशमै उत्पादन हुने जडीबुटीप्रति आकर्षण बढाउन स्थानीयदेखि केन्द्र सरकारको विशेष योजना आवश्यक छ । यसको महत्वलाई भाषणमा उल्लेख गर्नु भन्दा व्यवहारमा कार्यान्वय गर्ने गरी नीति तर्जुमा गरिनु आवश्यक छ ।