हेटौंडाः माध्यमिक तह सञ्चालनमा आएर दरबन्दीअनुसारका एकजना पनि शिक्षक दरबन्दी नपाएका र एकजना शिक्षक दरबन्दी पाएका विद्यालयलाई सरकारले अनुदान रकम दिने भएको छ । सरकारले दरबन्दीको एकजना पनि शिक्षक नभएका विद्यालयलाई दुईजना शिक्षक बराबरको रकम तथा दरबन्दीको एकजना शिक्षक भएको विद्यालयलाई एकजना शिक्षक बराबरको रकम उपलब्ध गराउने भएको हो । शिक्षा नियमावलीअनुसार मावि तह सञ्चालन भएको विद्यालयलाई न्यूनतम् ५ जना शिक्षक दरबन्दी उपलब्ध गराउनुपर्छ ।
शिक्षा विभागले शिक्षण सहयोग अनुदान कार्यक्रमको रुपमा रकम उपलब्ध गराउन लागेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । शिक्षा विभागले सम्बन्धित पालिकामा रकम निकासा गरेर माघ ११ गते शिक्षा विकास तथा समन्वय इकाई र सम्बन्धित पालिकामा परिपत्र समेत गरेको छ । शिक्षण सहयोग अनुदान कार्यक्रमबाट मकवानपुर जिल्लामा एकजना पनि दरबन्दीका शिक्षक नभएका १४ वटा विद्यालयले दुईजना शिक्षक बराबरको अनुदान रकम प्राप्त गर्नेछ ।
मकवानपुरका १४ विद्यालयले मासिक ७२ हजार रुपैयाँका दरले अनुदान रकम प्राप्त गर्नेछ । एउटा दरबन्दीका शिक्षक भएका विद्यालयले भने मासिक ३६ हजार रुपैयाँका दरले अनुदान रकम प्राप्त गर्नेछ । मावि तहमा एउटा मात्रै दरबन्दी प्राप्त गरेका मकवानपुरमा १६ वटा विद्यालय रहेका छन् । यस्तै मावि दरबन्दीका एकजना पनि शिक्षक नभएका विद्यालयलाई बागमती प्रदेश सरकारले गत आर्थिक वर्षबाट एकजना शिक्षक बराबरको अनुदान रकम पनि उपलब्ध गराइरहेको इकाई प्रमुख पौडेलले बताउनुभएको छ ।
मकवानपुरमा चालु शैक्षिकसत्रदेखि दुई वटा आधारभूत विद्यालयले मावि तह सञ्चालन गरेका छन् । मावि तह सञ्चालनमा आएका दुई विद्यालयसहित मकवानपुर जिल्लामा हाल ९६ वटा सामुदायिक विद्यालय माध्यमिक तहका छन् । चालु शैक्षिक सत्रबाट मकवानपुरको कैलाश गाउँपालिका–१० स्थित रत्नज्योति आधारभूत विद्यालय र मकवानपुरगढी गाउँपालिका–१ स्थित रानीसेरा आधारभूत विद्यालयले कक्षा ९ (मावि तह) को पठनपाठन सुरु गरेको छ । अहिले सम्बन्धित पालिकाको सिफारिसमै तह वृद्धि हुने व्यवस्था छ । यस्तै मकवानपुरका दुई विद्यालयले कक्षा ११ सञ्चालनको अनुमति पाएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसेस्थित कृष्ण मावि र थाहा नगरपालिका–११ स्थित बागेश्वरी माविले कक्षा ११ सञ्चालनको अनुमति पाएको छ ।