राष्ट्रिय परीक्षा बोर्डले सोमबार २०७६ सालको एसईईको नतीजा सार्वजनिक गर्यो । १९९० सालदेखिको एसएलसीको इतिहासमै एउटा भिन्न निर्णय गरेर यस वर्ष विद्यालयको स्वमूल्याङ्कनको आधारमा एसईईको नतीजा सार्वजनिक गरियो । कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण परीक्षा हुनुभन्दा केही घण्टा अघि मात्रै परीक्षा स्थगित गरेयता परीक्षा सञ्चालन गर्न सकिने अवस्था भएन । राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतीजा प्रकाशन गर्ने क्रममा विद्यालयको स्वमूल्याङ्कनमा विद्यार्थीले अस्वभाविक उच्च अंक हासिल गरेको भन्दै निक्कै आलोचना भइरहेको छ । यसै सन्दर्भमा रहेर शिक्षणसँगै शैक्षिक विमर्शमा पनि सक्रिय बंशगोपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेसँग समाज संवाददाता सुसन लामिछानेले गर्नुभएको कुराकानीः
समाजः यस पटकको एसईईको नतीजालाई कसरी हेर्नुभएको छ ?
लामिछानेः एसईई परीक्षाको नतीजा कसरी आयो भन्दा पनि नेपाल सरकारले अहिलेको यस्तो विषम् परिस्थितिमा इतिहासकै एउटा भिन्न निर्णय गर्यो । १९९० सालदेखि सुरु भएको एसएलसीको इतिहासमै यो एकदमै भिन्न खालको निर्णय हो । कक्षा १० को विद्यार्थीले शैक्षिक सत्र २०७६ मा दिएका ३ वटा परीक्षाको आधारमा, उनीहरुको गतिविधी, फेरिएको व्यवहार, उनीहरुलाई दिइएको कार्य पूरा गरेको आधारमा हामीले सधै मूल्याङ्कन गरिरहेका हुन्छौं । मूल्याङ्कनको डायरी हामीसँग हुन्छ । उनीहरुलाई दिएको फिडव्याकको लिस्टका आधारमा पनि हामीले मूल्याङ्कन गरेर नतीजा तयार पारेर शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरमा पेश गरेका थियौं । देशैभर यसरी नै नतीजा तयार परेर समन्वय इकाईमा बुझाएपछि सोही नतीजा प्रमाणीकरण गरेर राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक भएको हो ।
समाजः विद्यालयहरुले आफूखुशी नम्बर दिएर पठाएको भनिएको छ नि ?
लामिछानेः सबैलाई त म भन्दिन तर केही सामाजिक सञ्जाल र केही मिडियाहरुमा आए यस्ता प्रसङ्गहरु । पहिले ४ हजार ५ हजार ए प्लस आउँथे तर यो पटक ९ हजार आयो । अहिलेको अवस्था विषम् हो । अत्यन्तै जटिल अवस्थामा विद्यालयहरुले गरेको मूल्याङ्कन हो । मलाई लाग्छ यसमा सामुदायिक विद्यालयहरुले अतिरञ्जित हुने गरी कमजोर डि प्लस, सि आउने विद्यार्थीहरुलाई चाहि ए प्लस आउने गर्दै गर्दैन । यो कसैले पनि गरेकै छैन । अधिकांश निजी क्षेत्रका विद्यालयहरुमा अलिकता के समस्या छ भन्दा भिन्न अवस्था पनि हो फरक अवस्थाबाट गुज्रिरहनु परेको छ । उहाँहरुले बि आउनेले ए प्लस गर्नुभयो होला । त्यो फरक कुरा हो । अब कुरा यो छ की जाँचै लिएन हचुवाको भरमा नम्बर पठायो भन्नु चाहिँ एकदमै गलत बुझाई भयो । यो मिथ्या प्रचारहरु हुन् । चर्चामा आउन मात्र आएका कुराहरु हुन् ।
समाजः अघिल्ला वर्षहरुको तुलनामा नेपालमा यो पटक ४ मा ४ जिपिए ल्याउनेको संख्या ह्वात्तै बढ्यो त ?
लामिछानेः केही विद्यालयहरुमा केही स्थानमा उनीहरुको आन्तरिक समस्याहरु हुन्छन् । यस्तो समस्या चाहिँ प्रायः निजी विद्यालयहरुमा हुन्छ । किनभने उनीहरु बढी नतीजासँग जोडिएका हुन्छन् । निजी विद्यालयहरुमा नतीजा बढाएर नै आकर्षण बढाउने हो । नतीजा देखाएर नै गर्ने एक किसिमको व्यवसाय पनि हो । त्यो ढङ्गले पनि आकर्षण बढाउनुभएको होला । यदाकदा केही आए होलान् । तर, ४ हजारको ९ हजार आउनु ठूलो कुरा होइन । ४ हजारको ५० हजार भएको भए पो अलिकति साथीहरु बढाएछन् भन्नु ।
समाजः विद्यार्थीहरुको मूल्याङ्कन गर्दा सुधार गर्नुपर्ने कुरा के–के देख्नुभयो ?
लामिछानेः विद्यार्थीको उपस्थिति नियमित छ कि छैन, मूल्याङ्कन गर्दा, विद्यालयको १० देखि ४ बजेसम्म विद्यार्थीको बसाईको गतिविधि, उसले गर्ने क्रियाकलाप, अनुशासनहरु, उसको क्लासवर्क, होमवर्क, उसको प्राजेक्टवर्क, उसले गर्ने प्रयोगात्मक अभ्यासहरुको नतिजा समेतलाई मार्किङ गर्ने र सबै विषयका शिक्षकहरुले आफ्नो विद्यार्थीको नियमित मूल्याङ्कन गर्ने हो भने त्यो सबैभन्दा राम्रो मूल्याङ्कन विद्यार्थीको हुन आउँछ ।
समाजः यस पटक एसईई नहुँदा परीक्षाको तयारी गरेर बसेका विद्यार्थीहरुमा कस्तो मानसिक असर परेको पाउनुभयो ?
लामिछानेः ग्रेड प्रमोशनको परीक्षा यो पटक नहुने, डि प्लस भन्दा मुनिको ग्रेड नदिने र ११ कक्षामा कक्षा १० का विद्यार्थीहरुलाई भर्ना हुन दिने आशयले हामीले यो नतिजा निकालेका हौं । केही विद्यार्थीहरु जो पछिल्लो चरणमा आफ्नो मिहिनेत बढाएर, परिश्रम बढाएर ग्रेड बढाउन अत्यन्तै लागिपरेका थिए र ती राम्रा विद्यार्थीहरुका लागि भने यो एउटा दुःखद् समय हो । उनीहरुले अलिबढी चिन्ता लिएका छन् । भविष्यमा हामी कोभिड–१९ को वर्ष अर्थात कोरोना कहरको वर्षका एसईई हौं । हाम्रो सर्टिफिकेटमा नलेखिए पनि २०७६ भनेपछि कोरोनाको वर्ष भनेर हेर्ने मान्छेको नकारात्मक दृष्टिकोणले पीडा हुन्छ भनेर राम्रा विद्यार्थीहरुको अभिव्यक्ति आएका छन् ।
समाजः एसईईमा राम्रो ग्रेड ल्याउनेको फोटोसहित बधाई दिएर सामाजिक सञ्जाल भरिँदा कम ग्रेड आउने विद्यार्थीहरुमा एक किसिमको हिनताबोध उत्पन्न भएको छ यसलाई तपाईले कसरी ग्रहण गर्नुभएको छ ?
लामिछानेः यस्तो गर्न अहिले जरुरी थिएन । यद्यपि कतिपय हाम्रा अभिभावक र हाम्रा साथीहरुले उनीहरुलाई हौसला प्रदान गर्न यस्तो गर्नुभएको हो । यसलाई सकारात्मक रुपमा लिऔं । बधाई प्रति हाम्रो आपत्ति छैन । तर, अहिले शिक्षकहरु राखेर, सामाजिक सञ्जालमा सिंगारपटार नै गरेर राख्नुपर्छ जस्तो चाहि मलाई लाग्दैन ।