हेटौंडाः युवाको एक समूहले हेटौंडा–६, गौरिटारस्थित कोरोना सङक्रमितको उपचार कक्ष (आइसोलेसन वार्ड) लाई सहयोग गरेका छन् । युवाको एक समूह आज गौरिटारस्थित आइसोलेसन वार्डमा पुगेर एक महिनाका लागि दुध सहयोग गरेका छन् । उनीहरुले दैनिक २० लिटरका दरले दुध सहयोग गरेका छन् । दुग्ध सहकारीमार्फत दैनिक २० लिटर दुध उपलब्ध गराउने व्यवस्था मिलाइएको सहयोगी समूहका सदस्य नरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

कोरोना भाइरस सङ्क्रमित भई उपचारका लागि आइसोलेसनमा रहेकाहरुको पोषणका लागि उपयोगी हुने अपेक्षासहित दुध सहयोग गरिएको भण्डारीको भनाइ छ । नेकपा सम्वद्ध व्यवसायी, विद्यार्थी, युवाको समूहले सहयोगको व्यवस्थापन गरेका हुन् । आइसोलेसन वार्डको व्यवस्थापनका लागि आवश्यक थप सहयोगका लागि पनि युवाको समूहले प्रतिवद्धता व्यक्त गरेका छन् ।

आइसोलेसन वार्डमा विरामीका लागि खाने, बस्ने व्यवस्थापनमा कमिकमजोरी भइरहेको भनी आलोचना भएपछि दैनिक सहयोगीको समूह गौरिटार आइसोलेसन वार्ड पुग्ने गरेका छन् । मंगलबार मात्रै मकवानपुर कुखुरा व्यवसायी संघले एक महिनाका लागि कुखुराको अण्डा र कुखुराको मासु उपलब्ध गराउन सुरु गरेका छन् ।