भेलालाई सम्बोधन गर्नुहुँदै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य ।

हेटौंडाः नेपाल पत्रकार महासंघको राष्ट्रिय भेलाले महासंघको जिल्ला, प्रदेश र केन्द्रीय समितिको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको छ । महासंघको वर्तमान कार्यसमितिको ३ वर्षे कार्यकाल भदौ ५ गते सकिँदै छ । आज भर्चुअल माध्यमबाट भएको भेलाले कार्यकाल थप गर्ने निर्णयका साथै आगामी फागुन ३ गते तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय भेलाले भदौ महिनामा जिल्ला तहमा सदस्यता नवीकरण गर्ने तथा नयाँ सदस्यता वितरण गर्ने, असोज मसान्तमा सबै प्रदेश समितिले जिल्लाको समग्र विवरण केन्द्रीय समितिलाई पठाउने निर्णय गरेको छ । मंसिरसम्ममा जिल्ला, प्रतिष्ठान, एसोसिएट शाखाको साधारण सभा सम्पन्न गर्ने, पुस मसान्तसम्म सबै प्रदेशहरुको साधारणसभा सम्पन्न गर्ने, माघ ४ र ५ गते केन्द्रीय साधारण सभाको आयोजना गर्ने र २०७७ फागुन ३ गते जिल्ला, प्रदेश र संघ तीनवटै तहको निर्वाचन एकैसाथ आयोजना गर्ने निर्णय भएको नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष प्रताप विष्टले जानकारी दिनुभएको छ ।

भर्चुअल सम्मेलनमा सहभागीहरु ।

राट्रिय भेलाले २०७७ सालको सदस्यता नवीकरण शूल्क छुट दिने निर्णय गरेको छ भने कोरोना महाव्याधीका कारण आर्थिक अभाव झेलिरहेका सञ्चारमाध्यम र श्रमजीवी पत्रकारका लागि उचित राहतका लागि संघीय, प्रदेश र स्थानीय सरकारहरुसँग माग गरेको छ । यस्तै समसामयिक विषयमा विविध प्रस्तावमाथि छलफल गरेर पारित गरेको छ । राष्ट्रिय भेलामा ७७ जिल्लाका पत्रकार महासंघका अध्यक्ष, प्रदेश समिति, प्रतिष्ठान, पत्रकार उपत्यका समितिका अध्यक्ष, केन्द्रीय समितिगरी एक सय ५० जनाको सहभागिता रहेको थियो । हेटौंडामा हुने भनिएको महासंघको राष्ट्रिय भेला कोरोना महामारी बढ्दै गएपछि हेटौंडामा आयोजना गर्न सम्भव नभएपछि आज भर्चुअल रुपमा सम्मेलनको आयोजना गरिएको हो ।