हेटौंडाः हेटौंडा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई एक महिनाको तलब प्रोत्साहन स्वरुप वितरण गरिएको छ । आर्थिक वर्ष २०७६/७७ मा बीमा कार्यक्रमबाट भएको आम्दानीको करिब १० प्रतिशत हुन आउने रकम प्रोत्साहन स्वरुप वितरण गरिएको हेटौंडा अस्पतालका प्रमुख डा. प्रविन श्रेष्ठले जानकारी दिनुभएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा हेटौंडा अस्पतालले बीमा कार्यक्रमबाट करिब ६ करोड रुपैयाँ आम्दानी गरेको थियो । बीमा कार्यक्रमबाट हुने आम्दानीको १० प्रतिशतसम्म रकम प्रोत्साहन स्वरुप वितरण गर्न पाउने व्यवस्थाअनुसार एक महिनाको तलब स्केल बराबरको रकम अस्पतालका एक सय ७० जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई वितरण गरिएको छ । हेटौंडा अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलाई एक महिनाको आधारभूत तलब बराबरको प्रोत्साहन रकम वितरण गर्दा करिब ६० लाख रुपैयाँ खर्च हुने बताइएको छ । हेटौंडा अस्पताल विकास समितिले प्रोत्साहन रकम वितरण गर्ने निर्णय गरेर सबै स्वास्थ्यकर्मी, कर्मचारीलाई वितरण गरिसकिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा हेटौंडा अस्पतालले करिब १० करोड रुपैयाँ आम्दानी गरेको छ । खर्च कटाएर अहिले हेटौंडा अस्पतालको खातामा एक करोड २९ लाख बचत रहेको र बीमावापतको करिब ५० लाख रुपैयाँ आम्दानी प्राप्त हुन बाँकी रहेको हेटौंडा अस्पताल प्रमुख डा. श्रेष्ठको भनाइ छ । हेटौंडा अस्पतालले गत वर्ष पनि एक महिनाको तलबको ५० प्रतिशत हुने रकम प्रोत्साहन स्वरुप वितरण गरेको थियो ।