कोरोनाको महामारीले विश्व नै आतंकित भएको छ । शक्तिशाली देशहरु पनि कोभिडसँग लाचार बनेका छन् । हुन त रसियाले खोपको आविष्कार गरेको दावी गरे पनि विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको छैन । यस्तो शक्तिशाली आतंक विरुद्धको लडाइँ व्यवहारले मात्र पराजित गर्न सकिन्छ । यसमा युवाको भूमिका महत्वपूर्ण हुन सक्छ । तर नेपालमा युवा राजनीतिक आन्दोलन बाहेक समाज रुपान्तरणको अभियानमा सहभागी हुन सकेको अवस्था छैन । महामारीमा युवा परिचालित हुन आवश्यक छ । राजनीतिक दलहरुले पनि कोभिड विरुद्ध नागरिकलाई सचेत बनाउने अभियान चलाउने र युवालाई जिम्मेवारी दिन सक्नुपर्ने थियो । राजनीतिक दाउपेचमा उपयोग हुने युवाशक्तिलाई सामाजिक अभियानको नेतृत्व सुम्पनु आवश्यक छ । यसमा युवा स्वयम् पनि जिम्मेवार र सचेत हुनु पर्दछ ।
अन्तर्राष्ट्रिय युवा दिवसमा हुने विविध कार्यक्रम यस पटक भएनन् । नेतृत्वबाट दिने परम्परागत शुभकामनामा सीमित हुन बाध्य भएको छ । तर दिवसले युवाको भूमिकाको खोजी गरेको छ । महामारीमा युवाले निर्वाह गर्नपर्ने भूमिका कस्तो हुने र सो पूरा भएको छ कि छैन भन्ने वहस आवश्यक छ । आधा भन्दा वढी जनासंख्या रहेको यो शक्ति महामारी विरुद्धमा परिचालन गर्ने योजना र कार्यक्रम सरकारले ल्याउनु पर्ने थियो । तर शुभकामनामै सीमित भएको छ । समाजमा देखापरेका चुनौतिहरुको सामना युवाको नेतृत्वमा मात्र सम्भव छ । यस कुरालाई नेपालको नेतृत्व गर्ने सबैले स्विकार पनि गरेको छ । तर शासकीय वा पदीय जिम्मेवारी दिन कुनै दल तयार देखिँदैनन् । पार्टीदेखि सरकारका सवै स्थानमा युवाको उपस्थितिलाई अस्विकार नै गरिएको छ । तर युवा दिवसमा चिप्ला सन्देश दिन नेताहरु चुक्दैनन् ।
विश्वव्यापी फैलिएको कोरोना महामारीसँग संघर्ष गरिरहेको राज्यलाई युवा जोशको खाँचो छ । सक्रियता र रोगप्रतिरोधी क्षमता बढी हुने भएकाले पनि उनीहरु अग्रभागमा रहेर समाज सेवा गर्न सक्ने छन् । तर यसका लागि निश्चित योजना आवश्यक छ । दलगत स्वार्थ भन्दा माथि रहेर युवाहरु परिचालनको नीति र कार्ययोजना सरकारले ल्याउनु पर्दछ । तर न संघीय सरकार न प्रदेश वा स्थानीय कसैले पनि महामारीमा युवा शक्ति परिचालनको रणनीति बनाएका छैनन् । कोभिडबाट प्रताडित बन्दै गर्दा पनि ‘विश्व अभियानका लागि युवा सहभागिताः रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । युवा शक्तिको खाँचो महशुस गरिए पनि ठोस कार्यक्रम भने देखिँदैन ।
देश निर्माणमा युवा जनशक्तिलाई परिचालन गर्न कार्यक्रम र योजना आवश्यक छ । केही कार्यक्रम घोषणा गरिए पनि कार्यान्वयन हुने नहुने विगतदेखिकै समस्या हो । युवा परिचालनका लागि पनि राजनीति हुने गरेका घटनाहरु पनि छन् । आयमूलक कार्यक्रममा पार्टी र आफन्तको खोजी हुने गर्दछ । तर स्वयंसेवकका रुपमा परिचालन गर्दा हुने आव्हानमा सहभागितता कम हुने वा नहुनेमा यस्तै व्यवहार जिम्मेवार छन् । राजनीतिक अस्थाकै कारण नागरिकको हैसियतले पाउने सुविधा र निर्वाह गर्नुपर्ने जिम्मेवारीमा समानता हुन आवश्यक हुन्छ । राष्ट्र निर्माणमा युवाहरु परिचालन गर्न कृषिमा युवा सहभागिता आवश्यक छ । स्वरोजगारका लागि सीपयुक्त क्षमता अभिबृद्धि आवश्यक हुन्छ । क्षमता अनुसारको उत्पादनको क्षेत्रमा जोडिए मात्र देश निर्माणमा युवाहरुको भूमिका देखिने छ ।