बालबालिकाहरुको सुन्दर भविष्य निर्माण गर्ने जिम्मेवारी शिक्षक हो । त्यसैले शिक्षकहरूले पनि अन्य कर्मचारी सरह सेवा सुविधा पाउनुपर्छ भनेर आजभन्दा ४५÷४६ वर्ष अगाडि २०३५ सालमा हेटौंडामा शिक्षकहरू संगठित भएर आन्दोलन गरेका थिए । निरंकुश पञ्चायतकालमा २०४२ सालमा काठमाडौ जाउँ अभियानमा देशभरका शिक्षकहरु काठमाडौं ओइरिएका थिए । निरंकुश पञ्चायत सरकारले सबै शिक्षकहरूलाई पक्राउ गरी काठमाडौंका थानाहरु र व्यारेकहरुमा जम्मा गरी मध्यरातमा ट्रकहरुमा गाई–बाख्रा खाँदे झैं खाँदेर जिल्ला–जिल्लाका जेलहरुमा महिनौं थुनेको थियो । त्यतिबेला लामो संघर्ष ३९ दिनको आन्दोलनपछि कोटाबाट पाउने रकमबाट सुख्खा तलब मात्र खान पाएका शिक्षकहरूले पेन्सन उपदान र आवाजसम्म राख्न पाउने भएको थियो ।
२०४६ सालमा लोकतन्त्रको बहालीपछि लोकतान्त्रिक सरकारमा पुगेका सबै दलहरूका नेताहरुले शिक्षकहरूलाई भातृसंगठनहरुमा विभाजन गरी भर्ती केन्द्र मात्र बनाएन बालबालिकाहरुको सुन्दर भविष्य निर्माण गर्न निशूल्क र अनिवार्य शिक्षा लागु गर्ने, विद्यालय सुधार योजनादेखि समाजवादी व्यावसायिक शिक्षा नीति अबलम्बन गर्ने, शिक्षामा दोहोरो नीति हटाउने, सार्वजनिक विद्यालयहरुको गुणस्तर उकास्नेदेखि अनेक भाषण गर्न भ्याए । राज्यको पहिलो प्राथमिकता र दायित्व शिक्षामा हुनुपर्ने हो । देश निर्माण गर्ने दक्ष प्राविधिक राजनीतिज्ञ कुशल प्रशासक स्वाभिमानी देशभक्त नागरिक असल र कर्तव्यनिष्ठ शिक्षक प्राध्यापकको उत्पादन असल शिक्षा नीतिले नै गर्ने हो । एउटा असल कर्तव्यनिष्ठ, स्वाभिमान र योग्य शिक्षकबाट मात्र यो सम्भव छ । यसको प्रमुख दायित्व र जिम्मेवारी सरकार को हो ।
निरंकुश पञ्चायतकालका शासकहरुदेखि लोकतन्त्र र गणतन्त्र हुँदासम्मका सरकारहरुले शिक्षकहरुले उठाएका उचित र न्यायोचित मागलाई सस्तो लोकप्रियताका लागि मात्र पूरा गर्ने आश्वासन दिएर थमथ्म्याएका थिए । अहिले पनि अपवाद बाहेक सामुदायिक विद्यालयहरुको अवस्था खस्केको छ । विषय शिक्षकको अभाव छ । प्रारम्भिक तहमा पढाउने शिक्षकको बेतन परिचरको भन्दा कम छ । कक्षाकोठा र भवनको अभाव छ । कैयन ठाउँमा धुलो भई र चौरमा बसेर पढ्नुपर्ने बाध्यता छ । निशूल्क शिक्षा भने पनि धेरै ठाउँमा सहयोगको नाममा विद्यार्थीबाट रकम उठाइरहेका छन् ।
शिक्षकहरुले पटक–पटक संघर्ष र आन्दोलन गरी उठाएका मागहरू पूरा गर्ने सम्झौता गरेका सरकारहरुले माग पूरा नगरेपछि बिगत १५ दिनदेखि देशभरबाट शिक्षकहरु संघीय राजधानीमा ओइरिएर शालिन र शिष्ट भएर सरकारलाई माग पूरा गराउन दबाब दिइरहेका छन् । यो सरकार शिक्षकहरुको उचित र न्यायोचित माग पूरा गर्न सक्छ भन्नेमा स्वाभिमानी शिक्षक र अभिभावकहरुले अझै पत्याउन सकेका छैनन् ।