हेटौँडा : मकवानपुरका १० वटै पालिकाले आधारभूत तह कक्षा ८ को नतिजा चैत महिनामै सार्वजनिक गरेको छ । पालिकाहरुले चैत महिनामा नै नतिजा सार्वजनिक गरेको पालिकाका शिक्षा शाखा प्रमुखहरुले जानकारी गराएका छन् ।
कैलाश गाउँपालिकाले आधारभूत तह (कक्षा–८) को वार्षिक परीक्षाको नतीजा चैत २१ गते सार्वजनिक गरेको थियो । पालिकामा १८१ जना विद्यार्थी मात्र उत्तीर्ण भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख समीर जोशीले जानकारी दिनुभयो । गाउँपालिका भित्र रहेका १० वटा विद्यालयबाट ३४३ जना विद्यार्थीले परीक्षा दिएका थिए । १६२ जनाको ननग्रेड आएको जोशीले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष नतिजा राम्रो आएको उहाँको भनाई छ । गाउँपालिकाले चैत ७ गतेदेखि १४ गतेसम्म परीक्षा संचालन गरेको थियो । पालिकाले ग्रेडवृद्धि परीक्षा संचालन नगर्ने उहाँको भनाई छ ।
यस्तै, राक्सिराङ गाउँपालिकाले चैत २८ गते नतिजा सार्वजनिक गरेको थियो । २०२ जना विद्यार्थीको ननग्रेड (एनजी) आएको छ । पालिका भित्र रहेका १५ वटा विद्यालयका ३४५ जना विद्यार्थीले परीक्षा दिएकोमा १४३ जना मात्र उत्तीर्ण भएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख पङ्कज थारुले जानकारी दिनुभयो । २०८१ सालमा कक्षा ८ मा ४१८ जना विद्यार्थी भर्ना भए पनि ३४५ जना विद्यार्थी मात्र परीक्षामा सहभागी भएका थिए । २०८० सालमा ३३१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदा २४२ जना उत्तीर्ण भएका थिए । पालिकाले २ वटासम्म विषयमा एनजी आएका विद्यार्थीलाई मौका परीक्षा संचालन गर्ने थारुले जानकारी दिनुभयो । बैशाख ५ गतेसम्म फारम भर्न अनुरोध गरेको छ भने १० गते बिहान ८ बजेबाट परीक्षा संचालन हुनेछ । २०८० सालको तुलनामा २०८१ सालमा कम विद्यार्थी उत्तीर्ण भएको उहाँले जानकारी दिनुभयो ।
यस्तै थाहा नगरपालिकामा चैत २५ गते नतिजा सार्वजनिक गरेको थियो । ८१ जना विद्यार्थीको नतीजा ननग्रेड (एनजी) आएको छ । नगरपालिकाबाट ६२५ जना विद्यार्थीले परीक्षा दिएकोमा ५४४ जना उत्तीर्ण भएको पालिकाका शिक्षा शाखा प्रमुख माधव विक्रम मल्लले जानकारी दिनुभयो । अघिल्लो वर्षको तुलनामा यस वर्ष कम विद्यार्थी उत्तीर्ण भएका छन् । २०८० सालमा ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने २०८१ सालमा ८७ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएको उहाँले बताउनुभयो ।
यस्तै, भीमफेदी गाउँपालिकाले आधारभूत तह (कक्षा–८) को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत फागुन २६ गतेदेखि चैत ५ गतेसम्म सञ्चालन भएको ८ कक्षाको वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरिएको हो । जसमा १४ जनाले ३.६ देखि ४ जीपीए प्राप्त गरेका छन् भने ४८ जनाले ३.२ देखि ३.६ जीपीए प्राप्त गरेका छन् । भीमफेदी गाउँपालिकाको शिक्षा शाखाका प्रमुख चक्र साउदका अनुसार ७४ जनाले २.८ जीपीएदेखि ३ दशमलव २ जीपीए ल्याउन सफल भएका छन् । ६७ जनाले २.४ जीपीएदेखि २.८ जीपीए प्राप्त गर्न सफल भएका छन् । १९ जनाले २ देखि २.४ जीपीए ल्याएको उहाँले बताउनुभयो । एनजी प्राप्त गर्ने विद्यार्थी ५७ रहेको छ २ सय २२ जना मात्र उत्तीर्ण भएको प्रमुख साउदले जानकारी दिनुभयो । उहाँकाअनुसार ७९ दशमलव ५७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण हुन सफल भएको उहाँले बताउनुभयो । भीमफेदीमा १५ वटा विद्यालयका विद्यार्थीले ८ कक्षाको वार्षिक परीक्षा दिएका थिए ।
मनहरी गाउँपालिकाले आधारभूत तह (कक्षा–८) को वार्षिक परीक्षाको नतीजा सार्वजनिक गरेको छ । आधारभूत तह कक्षा–८ को परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयअनुसार चैत २९ गते सार्वजनिक गरेको नतीजामा जीपीए १.६ भन्दामाथि प्राप्ताङ्क हासिल गर्दै ४ सय ५४ जना (५९.८२ प्रतिशत) विद्यार्थी कक्षा–९ मा अध्ययन गर्न योग्य भएका छन् भने ३०५ जना विद्यार्थी १.६ जीपीए भन्दा कम प्राप्ताङ्कसहित ननग्रेडेड भएका छन् । मनहरी गाउँपालिकाका १४ वटा सामुदायिक विद्यालय र ४ वटा निजी विद्यालय गरी १८ वटा विद्यालयबाट कक्षा–८ को वार्षिक परीक्षामा विद्यार्थी सहभागी भएका थिए । गत वर्षको तुलनामा यस वर्ष ८ कक्षाको परीक्षाको नतीजामा सुधार आएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले जानकारी दिनुभयो । साथै मनहरी गाउँपालिकाले एक विषयमा ननग्रेडेड भएको भए मौका परीक्षाको अवसर प्रदान गर्ने जनाएको छ । ग्रेडवृद्धि परीक्षा आगामी बैशाख ७ गते दिउँसो १ बजेदेखि राष्ट्रिय रोटरी माविमा हुनेछ ।
यस्तै बकैया गाउँपालिकाले गाउँपालिकाले आधारभूत तह (कक्षा–८) को वार्षिक परीक्षाको नतीजा चैत २६ गते सार्वजनिक गरेको छ । पालिकाले चैत ७ गतेदेखी १४ गतेसम्म संचालन गरेको परिक्षाबाट ५६ प्रतिशत मात्र विद्यार्थी उत्तिर्ण भएका छन् । पालिकाभित्र रहेका २२ वटा विद्यालयबाट ५८७ जना विद्यार्थीले परिक्षा दिएको पालिकाका शिक्षा शाखा प्रमुख आइतराम तामाङले जानकारी दिनुभयो । परिक्षामा ३३७ जना विद्यार्थी उत्तिर्ण भएका छन् भने २५० जना विद्यार्थीले एनजि प्राप्त गरेको उहाँले बताउनुभयो । अघिल्लो वर्षको तुलनामा यस वर्ष नतिना कमजोर आएको छ । अघिल्लो वर्ष ६१४ विद्यार्थीले परिक्षा दिएकोमा ५३७ जना विद्यार्थी उत्तिर्ण भएका उहाँले बताउनुभयो ।
बागमती गाउँपालिकाले आधारभूत तह (कक्षा–८) को वार्षिक परीक्षाको नतीजा चैत २८ गते सार्वजनिक गरेको छ । पालिकाले चैत ७ गतेदेखी १४ गतेसम्म संचालन गरेको परिक्षामा २८ जना विद्यार्थीले एनजि ल्याएका छन् । २१९ जना विद्यार्थी भर्ना भएकोमा परिक्षामा १८४ जना विद्यार्थी मात्र सहभागी भएका पालिकाका सञ्जय विष्टले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष बढी विद्यार्थी उत्तिर्ण भएका छन् ।
हेटौँडा उपमहानगरपालिकाले ८ कक्षाको पालिकास्तरीय परीक्षाको नतीजा सार्वजनिक गरेको छ । हेटौँडा उपमहानगरपालिकाको आधारभूत तह परीक्षा समितिले बुधबार साँझ नतीजा सार्वजनिक गरेको हो । परीक्षाको नतीजा उपमहानगरपालिकाको वेभसाइटमा सार्वजनिक गरिएको छ । परीक्षा समितिले सार्वजनिक गरेको नतीजाअनुसार परीक्षामा सहभागी ४ हजार २९ जना विद्यार्थी मध्ये ५ सय ३७ जना विद्यार्थी ननग्रेडेड भएका छन् । कक्षा–८ को वार्षिक परीक्षा चैत ७ गतेबाट सुरु भएर चैत १४ गते सकिएको थियो । हेटौँडा उपमहानगरपालिकाका ८४ वटा विद्यालयबाट कक्षा–८ को वार्षिक परीक्षामा विद्यार्थी सहभागी भएका थिए ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका आधारभूत तह (कक्षा–८) को वार्षिक परीक्षाको नतीजा चैत २६ गते सार्वजनिक गरेको छ । पालिकाले चैत ७ गतेदेखी १४ गतेसम्म संचालन गरेको परिक्षामा विद्यालयबाट ३८ जना विद्यार्थी ननग्रेडेड भएका गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तले जानकारी दिनुभयो । परिक्षामा १५४ जना विद्यार्थी सहभागी भएका थिए । अघिल्लो वर्षको तुलनामा राम्रो नतिजा आएको उहाँले बताउनुभयो । अघिल्लो वर्ष २० प्रतिशत नतिजा ल्याएका थिए भने यस वर्ष ७५ प्रतिशत नतिजा प्राप्त गरेका छन् । यहि अनुसार नै नतिजा सुधारका लागि आगामि दिनमा पालिकाले सहयोग गर्ने पन्तले बतानुभयो ।
मकवानपुरगढी गाउँपालिकाले आधारभुत तह (कक्षा–८) को नतिजा सार्वजनिक गरेको छ । २४ गते सार्वजनिक भएको नतिजामा गढी गाउँपालिका–४ स्थित ज्वालादेवी आधारभुत विद्यालयका विद्यार्थी शान्त थिङले उत्कृष्ट ३.७९ जिपीए प्राप्त गरेका गाउँपालिकाका शिक्षा सहजकर्ता कमल फुयालले जानकारी दिनुभयो । यस वर्ष आधारभुत तहको परिक्षामा ३९२ जना सहभागी भएका थिए । ६ वटा विद्यालयले शतप्रतिशत नतिजा प्राप्त गरेको सहजकर्ता फुयालले जानकारी दिनुभयो । मकवानपुरगढी गाउँपालिकामा रहेको १६ वटा विद्यालयमा गत वर्ष ४७८ जना विद्यार्थी भर्ना भएका थिए भने ३९२ जना विद्यार्थी वार्षिक परीक्षामा सहभागी भएका थिए ।