हेटौँडा–४, कर्रास्थित श्रमिक माविमा बिहीबार बिहान प्रार्थना समयमा उपस्थित भएका विद्यार्थीहरु ।

हेटौँडा : संघीय सरकारसँग सहमति भएलगत्तै सार्वजनिक बिदाको दिन पनि हेटौँडाका विद्यालय खुलेका छन् । बिहीबार अन्तर्राष्ट्रिय श्रमिक दिवसमा संघीय सरकारले नै सार्वजनिक बिदा दिएको छ । बुधबार (हिजो) संघीय सरकारसँग ९ बुँदे सहमति भएलगत्तै बिहीबार (आज) देखि हेटौँडाका केही विद्यालयले पठनपाठन सुरु गरेका छन् । हेटौँडा–४, कर्रास्थित श्रमिक मावि र हेटौँडा–५, पिप्लेस्थित बालज्योति माविमा बिहीबारदेखि पठनपाठन सुरु भएको छ ।

बैशाख १ गतेदेखि नयाँ शैक्षिकसत्र सुरु भए पनि शिक्षक आन्दोलनका कारण विद्यालयमा पठनपाठन हुन सकेको थिएन । शिक्षक आन्दोलनकै कारण विद्यार्थी भर्ना अभियान समेत सुरु हुन सकेको थिए । यद्यपि अधिकांश सामुदायिक विद्यालयले आन्दोलन सँगसँगै विद्यार्थी भर्नाको प्रक्रिया पनि जारी राखेका थिए ।

हेटौँडा–५, पिप्लेस्थित बालज्योति माविमा बिहीबार कक्षाकोठामा अध्ययन गर्दै गरेका विद्यार्थीहरु ।

श्रमिक माविका प्रधानाध्यापक श्रीराम दहालका अनुसार शिक्षक आन्दोलन सकिएलगत्तै सार्वजनिक बिदा भए पनि पठनपाठन सुरु गरिएको र पहिलो दिन भए पनि विद्यार्थीको उपस्थिति उत्साहजनक रहेको बताउनुभयो । यस्तै बालज्योति माविका प्रधानाध्यापक भरत अर्यालका अनुसार बिहीबार झण्डै ८० प्रतिशत विद्यार्थीको उपस्थिति रहेको जानकारी दिनुभयो । आन्दोलन जारी रहँदा पनि विद्यार्थी भर्नाको प्रक्रिया जारी रहेको प्रधानाध्यापक अर्यालको भनाइ छ । यस वर्ष पूर्वप्राथमिक तहमा करिब २ सय र कक्षा–१ देखि ९ सम्म १ सयको संख्यामा नयाँ विद्यार्थी भर्ना गरिएको प्रधानाध्यापक अर्यालले जानकारी दिनुभयो ।

यस्तै कैलाश गाउँपालिका–१० स्थित रत्न ज्योति मावि पनि बिहीबारदेखि खुलेको छ । पठनपाठन नै सुरु नभए पनि विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण लगायतका काम भइरहेको प्रधानाध्यापक देवेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । शिक्षक आन्दोलनका क्रममा बुधबार काठमाडौंमै रहनुभएका प्रधानाध्यापक यादवले बुधबार राती सहमतिभएसँगै विद्यालयका शिक्षक साथीहरुलाई बिहीबार विद्यालय खोल्ने जानकारी गराउनुहुँदै बिहीबार बिहान पनि सामाजिक सञ्जालमार्फत विद्यालय खुल्ने जानकारी गराएको बताउनुभयो ।