हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा विभिन्न घटनामा ३ जनाको मृत्यु भएको छ । प्रदेशको सिन्धुली, चितवन र काभ्रेपलाञ्चोक जिल्लामा ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१२, शनिटार मोबाईल चार्ज गर्ने क्रममा करेन्ट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५८ वर्षीय मोहन बहादुर घिसिङ रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार राती ८ बजेको समया र घिसिङलाई आफ्नै घरमा मोबाईल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका थिए । घाइते घिसिङलाई उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली लगिएको थियो । उपचारको क्रममा राती ११ बजेर १५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७, बसपर्कमा बेवारिसे अवस्थामा फेला परेका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मंगलबार दिउँसो ३ बजेको समयमा सडक पेटिमा हाल नाम थर नखुलेको अन्दाजी ५५ वर्षीय पुरुष अचेत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । पुरुषलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । उपचारको क्रममा पुरुषलाई बुधबार बिहान ५ बजेको समयमा डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–९, गोन्द्राङ चोकमा स्कुटरले ठक्कर दिँदा पैदल यात्री घाइते भएका छन् भने स्कुटर चालकको मृत्यु भएको छ । आइतबार राती ८ बजेर २५ मिनेटको समयमा गोन्द्राङबाट भरतपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००३ प ०११४ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदल यात्री चालक दुवै घाइते भएको प्रहरीले जानकारी दिएको छ । स्कुटर चालक चितवनको खैरहनी नगरपालिका–६, घर भइ हाल भरतपुर महानगरपालिका–१०, बस्ने ६५ वर्षीय नारायण कृष्ण पाठक र पैदल यात्री मकवानपुरको हेटौडा–१२, घर भइ हाल गोन्द्राङस्थित कोक फ्याट्रीमा काम गर्ने ३१ वर्षीय राजेश गोले गम्भिर घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि चितवनस्थित सरकारी अस्पताल भरतपुर लगिएको थियो । उपचारको क्रममा चालक नारायण कृष्णको मंगलबार दिउँसो २ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।











