बालमैत्री पालिका घोषणा गर्नुहुँदै संघीय सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह ।

हेटौंडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिकालाई बिहीबार बालमैत्री घोषणा घोषणा गरिएको छ । निर्धारित ५१ वटा सूचक पूरा भएको भन्दै पालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिएको हो । तर, हेटौँडाबासीले भने घोषणा गर्न आवश्यक तयारी नै नपुगी घोषणाका लागि मात्र बालमैत्री घोषणा गरिएको भन्दै आलोचना गरेका छन् ।

पछिल्लो ६ महिनामा हेटौँडा अस्पतालबाट २० वर्ष मुनिका एक सय २३ जना किशोरी आमा बनेका छन् । अपाङ्गता भएका बालबालिकाको विद्यालयमा पहुँच नै नभएको अवस्थामा बालमैत्री घोषणा कसरी हुन्छ भन्दै आलोचना गरिएको हो । अपाङ्ग सरोकार केन्द्र मकवानपुरका अध्यक्ष गणेशचन्द्र दवाडीले सयौंको संख्यामा रहेका अपाङ्गता भएका बालबालिका अझै विद्यालय बाहिर रहेको अवस्थामा बालमैत्री घोषणालाई घोषणाको रुपमा मात्र लिएको बताउनुभयो ।

प्रयत्न नेपालकी अध्यक्ष सरिता लामिछानेले सबै विद्यालय अपाङ्गमैत्री नभएको र बिना अवरोध निर्धक्क भएर प्याडसमेत लगाउने अवस्था किशोरीलाई नभएको बताउनुभयो । यतिमात्र होइन, समावेशी शिक्षा प्रत्याभूति नभइरहेको अवस्थामा कसरी बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भयो भन्दै प्रश्न गर्नुभयो । हेटौँडा–७ स्थित नवज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक विमल गौतमले बालमैत्री स्थानीय शासनयुक्त घोषणा भए पनि बालमैत्रीपूर्ण व्यवहारलाई कानुनी पक्ष सँगसँगै कार्यान्वयनमा ल्याउन जटिल रहेको बताउनुभयो । समाज र विद्यालयमा बालमैत्री व्यवहार नभएको केही घटना बाहिरिइरहेको अवस्थामा समाजमा चेतना फैलाउन जरुरी रहेको उहाँको भनाइ छ ।

हेटौँडा उपमहानगर बालमैत्री घोषणा भइरहेको अवस्थामा हेटौंडा अस्पतालको लापरवाहीले मनहरीका २ महिने शिशुको बुधबार मृत्यु भएको छ । बाल सुरक्षाबारे कसैले आवाज नउठाएको भन्दै प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले घोषणा समारोहमै उपमहानगरलाई आवाज उठाउन आग्रह गर्नुभयो । घोषणा समारोहको अन्तिम समयसम्म बालबालिकालाई बस्ने समेत वातावरण नबनेको उहाँले उल्लेख गर्नुभयो । उहाँले बालमैत्री घोषणामा मात्र सीमित हुने त होइन भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

हेटौंडा अस्पतालमा साउन महिनामा २६ जना, भदौमा १९ जना र असोजमा १२ जना, कात्तिकमा २३ जना, मंसिरमा २२ जना र पुसमा २१ जना २० वर्षभन्दा कम उमेरका किशोरी आमा बनेका छन् । गरिबी र अशिक्षाका कारण मकवानपुरका ग्रामीण क्षेत्रमा अझै बालविवाह नरोकिनुले किशोरीहरु आमा बन्ने क्रम जारी छ । यतिमात्र होइन, प्रविधिको बढ्दो दुरुपयोगले अनलाइनमा बालबालिकाहरु असुरक्षित बन्दै गइरहेका छन् ।

२०७९ सालको घरधुरी तथ्यांक संकलन सर्वेक्षणअनुसार हेटौंडा उपमहानगरपालिकामा १८ वर्ष मुनिका ५० हजार एक सय ९५ बालबालिका छन् । २६ हजार १ सय ४५ बालक र २४ हजार ५० बालिका रहेका छन् । तर, कति बालबालिका बालश्रममा संग्लन छन् र बालविवाहको यकिन तथ्यांकसमेत सार्वजनिक नगरी बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिनुले घोषणाका लागि मात्र गरेको आलोचना भएको हो । बालश्रमको अनुगमनका क्रममा उद्दार गरिएका बालश्रमिकको समेच उचित व्यवस्थापन गर्न सकिएको छैन ।