हेटौंडा : मधेश प्रदेशको बारा जिल्लामा भएको पाँचौं संस्करणको डुमरवान क्रिकेट प्रतियोगितामा मकवानपुर क्रिकेट एकेडेमी उपविजेता बनेको छ । शनिबार बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा भएको फाइनल खेलमा कलैया क्रिकेट क्लबसँग पराजित हुँदै मकवानपुर उपविजेता बनेको हो । समूह चरणको २ खेलमा जित निकाल्दै फाइनलको यात्रा पूरा गरेको मकवानपुरलाई कलैया क्रिकेट क्लबले मकवानपुरलाई १ सय ८१ रन बनाउने लक्ष्य दिएको थियो ।

कलैयाको जितमा शेराज हवारीले सर्वाधिक ३६ रन बनाएका थिए । निखिल सिंहले ३१ रन बनाउँदा निरज यादवले २३ रन मात्र जोड्न सफल भएका थिए । कलैयाले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको मकवानपुरले ९५ रन बनाउँदै सबै विकेट गुमाउनु परेको थियो । मकवानपुरका लागि शुंभ कंशाकारले सर्वाधिक ३८ रन बनाएका थिए । तक्षक सिम्खडाले १७ रन मात्र बनाएका थिए ।

प्रगतिशील युवा क्लबको आयोजनामा शनिबारबाट सुरु भएको प्रतियोगितामा मकवानपुरसहित ६ वटा टिमको सहभागिता रहेको मकवानपुर क्रिकेट संघका सचिव विनोदकुमार बानियाँले जानकारी दिनुभएको छ । प्रतियोगितामा गौर क्रिकेट क्लब, इस्टर्न क्रिकेट एकेडेमी, मकवानपुर क्रिकेट संघ, पर्सा क्रिकेट संघ, कलैया क्रिकेट क्लब र आयोजक प्रगतिशील युवा क्लबको सहभागिता रहेको उहाँले बताउनुभयो ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख र प्रतियोगिताको उपविजेता टिम मकवानपुरले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने विजेताले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । गत वर्षको साविक विजेता समेत रहेको मकवानपुर यस वर्ष उपविजेता बन्न पुगेको छ ।