हेटौंडाः अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति–२०८० को प्रचारप्रसार तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । बिहीबार बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल, युएनपीआरपीडी र युएनडीपीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
प्रयत्न नेपालकी अध्यक्ष सरिता लामिछानेले अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीतिबारे सहजीकरण गर्नुहुँदै नेपालको संविधानमा व्यवस्था गरिएका मौलिक हक र शिक्षा, स्वास्थ्य, रोजगारीमा पहुँच वृद्धिलगायतका लागि नीतिको आवश्यकता र औचित्य रहेको बताउनुभयो । उहाँले शिक्षा, रोजगारी, सामाजिक सहभागिता र आयआर्जनका अवसरमा समान पहुँच नहुनु, सामुदायिक सहायता सेवा कार्यक्रम सञ्चालनमा आउन नसक्नु, विभेद र असमान व्यवहारको अवस्था विद्यमान रहनुले समस्या भइरहेको उल्लेख गर्नुभयो ।
सूचना, सञ्चार तथा प्रविधिमा सहज पहुँच पुग्न नसक्नु, स्वास्थ्य, शिक्षा तथा सहायक सामग्रीको पहुँच पर्याप्त नहुनु, उपयुक्त पुनःस्थापना सेवाको पर्याप्त नहुनु र अपाङ्गता भएका व्यक्तिको लागि लक्षित कार्यक्रम पर्याप्त नहुनुजस्ता समस्या रहेको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो । संघ, प्रदेश र स्थानीय तहमा अपाङ्गतामैत्री विषयलाई आन्तरिकीकरण, सामाजिक संरचना र सोचमा परिवर्तन निर्णायक भूमिकामा बढोत्तरी ल्याउनु आवश्यक रहेको उहाँले बताउनुभयो । कानुन बमोजिमका सुविधा दिने, पर्याप्त स्रोत साधनको व्यवस्था गर्ने र सामाजिक विभेद अन्त्य गर्नेजस्ता चुनौती रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख अमृत अधिकारीले अपाङ्गतासम्बन्धी नीतिलाई प्रभावकारी ढंगले कार्यान्वयन पक्ष बलियो बनाउँदै लैजानुपर्ने बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुले सम्मानित जीवनयापन गर्न पाउनुपर्ने जानकारी दिनुहुँदै उहाँले बागमती प्रदेशमा प्रादेशिक नीति तर्जुमा भई मन्त्रिपरिषद्मा पेश नभएको बताउनुभयो । जसले गर्दा अपाङ्गताका क्षेत्रमा काम गर्न केही समस्या भएको र प्रादेशिक नीति कार्यान्वनमा आएपछि बागमती प्रदेश सरकारले थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
अपाङ्ग सरोकार केन्द्र मकवानपुरका अध्यक्ष गणेशचन्द्र दवाडीले ५ वटा नीति र रणनीतिहरु कार्यान्वयनमा रहेको अवस्थामा कार्ययोजना बनेको भए कार्यान्वयन पक्ष सहज हुने बताउनुभयो । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशकी व्यवस्थापक सीता मल्ल ठकुरीले अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क शिक्षा तथा रोजगारीको सुनिश्चितता हुनुपर्ने बताउनुभयो । बौद्विक अपाङ्ग महासंघकी उपाध्यक्ष श्रद्वा पौडेलको अध्यक्षता तथा महाशाखा प्रमुख अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । बहिरा महिला संघकी सदस्य कञ्चन अधिकारी, राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका उपाध्यक्ष खेलबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।