हेटौँडा उपमहानगरपालिकाले फोहोर उठाउन छाडेपछि हेटौँडाको बजार क्षेत्रमा थुप्रिएको फोहोर ।

हेटौँडा : बिहीबारदेखि हेटौँडा उपमहानगरका १९ वटै वडाका २३ हजार भन्दा बढी घरधुरीको फोहोर संकलन तथा व्यवस्थापन कार्य रोकिएपछि फोहोरको डङ्गुरले बागमती प्रदेशको राजधानी हेटौँडा कुरुप बनेको छ । हेटौँडा बजार क्षेत्रको सडकछेउ थुपारिएको फोहरको डङ्गुरले कुनै बेला देशको सबैभन्दा सफा शहरका रुपमा पुरस्कृत उपमहानगरलाई गिज्याइरहेको छ ।

हेटौँडा बजारको सिमाचोक, बुद्धचोक लगायत आसपासमा बोरा र प्लास्टिकभित्र फोहर खाँदेर राखिएको छ । सडक आसापास जताततै फोहोर फाल्दा हेटौंडा उपमहानगर कुरुप बन्दै गएको हो । हेटौँडा बजार क्षेत्रमा उपमहानगरपालिकाका सरसफाईमा खटिने कर्मचारीले फोहोर एकीकृत गरी सडकछेउमै थुपार्ने गरेका छन् । कपडा व्यवसाय गर्दै आउनुभएका हेटौँडा–१०, आनन्दटोलका नवराज न्यौपानेले निरन्तर रुपमा फोहर उठाएर व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उपमहानगरले वैकल्पिक व्यवस्था गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने न्यौपानेको भनाइ छ ।

हेटौँडा–१ का राजु श्रेष्ठले हेटौँडा उपमहानगरले फोहोर व्यवस्थापन तथा संकलन कार्य स्थगन गर्नु गलत भएको बताउनुभयो । फोहोर व्यवस्थापनका लागि संकलित फोहोर डम्पिङ कहाँ गराउने भन्ने विषय राज्य जिम्मेवार बन्नुपर्ने उहाँको भनाई छ । अर्का व्यवसायी बाबुलाल नेपालीले तत्काल फोहोर संकलन र व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले हेटौँडा उपमहानगरपालिकाले दीर्घकालिन फोहोर व्यवस्थापनका लागि विभिन्न उपाय खोजिरहेको दावी गर्नुभयो । फोहोर व्यवस्थापनका लागि तत्काल वैकल्पिक उपाय नहुँदा फोहोर संकलन तथा व्यवस्थापन कार्य रोकिएको उहाँले बताउनुभयो । फोहोरलाई एकै ठाउँमा केन्द्रित गर्नुभन्दा पनि सानो÷सानो डम्पिङ साइड भए फोहर व्यवस्थापनमा सजिलो हुने भएकाले ठाउँहरुको अध्ययन भइरहेको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

गत मंगलबार उच्च अदालत पाटन हेटौँडा इजलासले हेटौँडा उपमहानगरपालिका–१०, राप्तीतटस्थित डम्पिङ साइटमा फोहर फाल्न निषेधाज्ञा जारी गरेसँगै बिहीबारबाट हेटौँडा उपमहानगरपालिकाले फोहर व्यवस्थापन तथा संकलन कार्य स्थागन गरेको थियो । हेटौंडा उपमहानगरले ६ दिनदेखि फोहर व्यवस्थापन तथा संकलन कार्य रोकिएपछि फोहरको डङ्गुर थुपार्ने क्रम बढिरहेको छ ।

डम्पिङ साइटको व्यवस्थापन हुन नसकेको, डम्पिङ साइटमा आगोलागी भएर वातावरण प्रदुषण भएको भन्दै योगेन्द्र प्रसाद उपाध्यायले दायर गर्नु भएको रिट निवेदनमा उच्च अदालत पाटन हेटौँडा इजलाशकी न्यायाधीश डा. निर्मला पौडेल भट्टराईले निषेधाज्ञा जारी गर्नुभए भएको थियो । हेटौँडाबाट दैनिक २६ टनभन्दा बढी फोहोर संकलन हुने गरेको छ ।