हेटौंडामा तुइनबाट लडेर एकजना वृद्धको मृत्यु भएको भोलिपल्टै बागमती प्रदेश सरकारले ३२ वटा सडकपुलको उद्घाटन गरेको छ । सरकारले दुई वर्षमा निर्माण भएका पुलहरु एकमुष्ट रुपमा उद्घाटन गरेको हो । यो चानचुने उपलव्धी होइन । सडक पुल निर्माण गर्न पक्कै पनि समय लाग्दछ । सडक बने पनि पुल नबनेका धेरै उदाहरण हाम्रै समाजमा छन् । तर बागमती प्रदेश सरकारले दुई वर्षमै ३२ वटा सडक पुल निर्माण गरेर उद्घाटन नै गरेको छ । प्रधानमन्त्रीले देशभरको तुइन विस्थापित भएको घोषणा गरिरहँदा बागमती प्रदेशको राजधानीमै तुइनबाट मानिसको मृत्यु हुनु र त्यसको भोलिपल्ट ३२ वटा सडकपुल निर्माण भई उद्घाटन गरिनु संयोग नै भएको हो । तुइनका विषयमा चर्को आलोचना भएपछि तुइन त हटाईयो तर सो स्थानमा विकल्पका विषयमा योजना छैन ।


प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्रविधिको प्रयोग गरी मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाको दुबोखोलामा निर्माण सम्पन्न भएको पुलको उद्घाटन गरेसँगै ३२ वटै सडकपुलको उद्घाटन भएको घोषणा गर्नुभयो । वर्षाको कारण पुल बनेको स्थानमा पुग्न समस्या भएकाले एकै स्थानबाट सबै पुलको उद्घाटन गरिएको जनाईएको छ । विशिष्ट व्यक्ति नै पुग्न समस्या हुने स्थानमा पुल सन्चालन नै भएर उद्घाटन गरिएको छ । पुग्नै नसक्ने ठाउँका पुल एकमुष्ट उद्घाटन गर्नुको हतारो किन गरियो भन्ने प्रश्न गर्न सकिन्छ । दुई वर्षमै यतिधेरै पुल निर्माण भई सञ्चालनमा आउनु सामान्य विषय पक्कै पनि होइन । संघीय सरकारको लगानीमा प्रदेशले झोलुङगे पुल सहित अन्य एक सय २० वटा पुल पनि छिटै सम्पन्न हुने चरणमा रहेको दावी छ ।

नयाँ आर्थिक वर्षको सुरुवातमै प्रदेश सरकारले सडक पुल निर्माणको विषय सार्वजनिक गरेको हो । कुन सडकको कस्ता प्रकारको पुल हुन भन्ने विषयमा थप जानकारी आवश्यक छ । तर यतिबेला संख्याको दृष्टिकोणबाट धेरै नै पुलहरु निर्माण भएको देखिन्छ । कुन मितिबाट निर्माण सुरु भएका हुन् भन्दा पनि उद्घाटन हुने कुरा महत्वपूर्ण बनेको छ । प्रदेश सरकार गठन भए पनि सिलान्यास भई सम्पन्न भएका हुन् वा पुराना योजनाहरु दुई वर्षका बीचमा सम्पन्न भए भन्ने जिज्ञासा स्वभाविक हुन् । त्यसैले सरकारले आफुले गरेका कामका विषयमा विस्तृत जानकारी दिन आवश्यक छ । उद्घाटन भएका ३२ वटा पुलको कुल लम्बाई ९९२.९ मिटर रहेका पुल निर्माणका लागि ७३ करोड ६७ लाख ४३ हजार खर्च भएको छ ।

सडकपुल निर्माण गर्दै गर्दा तुइन विस्थापन अभियान पनि सँगै जानु आवश्यक छ । तुइनको विस्थापनसँगै विकल्प पनि दिनु राज्यको दायित्व हो । संघीय सरकारले तुइन विस्थापनको घोषणा गरिरहँदा प्रदेश सदरमुकाममै तुइन यथावत रहनु र दुर्घटना हुनुले चुनौती दिएको छ । तत्काल तुइन हटाईए पनि नागरिकलाई खोला तर्न विकल्प आवश्यक छ । त्यसैले प्रदेश सरकारले पनि सडकपुलका अतिरिक्त झोलुङगे पुलहरुमा पनि जोड दिनुपर्ने देखिन्छ । धेरै खर्च र समय लाग्ने सडकपुल समेत २ वर्षमै निर्माण हुन सक्छन् भने तुलनात्मक रुपमा कम खर्च र समय लाग्ने झोलुंगे पुल निर्माणमा प्रदेश सरकारको ध्यान पुग्नु पर्दछ । तुइन विस्थापनसँगै सडकपुल उद्घाटन हुन आवश्यक छ ।