नेपाल पत्रकार महासंघको तीनै तह र प्रतिष्ठान शाखाको निर्वाचन कार्यक्रमअन्तर्गत आज शुक्रबार मतदानको कार्यक्रम हुँदैछ । पटक–पटक निर्वाचनको कार्यक्रम तय भएर पनि स्थगित भएको निर्वाचनको कार्यक्रमअन्तर्गत अन्ततः आज शुक्रबार मतदान हुँदैछ । विपुल पोखरेल नेतृत्वको संघीय समिति, शिव देवकोटा नेतृत्वको बागमती प्रदेश समिति र मणिराज गौतम नेतृत्वको मकवानपुर जिल्ला समितिको कार्यकाल पूरा भएर झण्डै एक वर्ष ढिलो गरी निर्वाचन हुँदैछ । विपुल, शिव र मणि नेतृत्वको टिमले आआफ्नो तहमा गरेका कामको समीक्षा गरेर वार्षिक साधारणसभा तथा अधिवेशन सकिसकेको छ । आज हुने निर्वाचनले नयाँ समिति चयन गर्नेछ ।

नेपाल पत्रकार महासंघको नेतृत्वमा रहनका लागि व्यक्ति, संगठन, पार्टी नै लागेको छ । पछिल्लो समय पत्रकारिता पेशा र पेशाकर्मी पत्रकारको तितो आलोचना हुने गरेको छ । कतिपय आलोचना स्वभाविक देखिन्छ भने कतिपय आलोचना पूर्वाग्रहप्रेरित देखिन्छ । पत्रकारिता पेशा आफैंमा अपजसिलो पेशा हो । सत्य नरुचाउने, जिम्मेवारीबोध नगर्ने हाम्रो समाजमा राम्रा पत्रकार स्थापित हुन नसक्ने, नराम्रा पत्रकारको हालीमुहाली हुने खराब प्रवृत्तिका कारण पत्रकारिता पेशा र पत्रकार दुबै आलोचनाको घेरामा छ ।

पत्रकारिताको विषयमा आम नागरिकको बुझाई, सञ्चार माध्यममा आम मान्छेको पहूँचका कारण आज पत्रकारिताको अभ्यास पत्रकारमा मात्रै सीमित छैन । एकजना सचेत नागरिकले आफ्नो चेतनाको उपयोग गरेर समाजलाई, सरोकारवालालाई सतर्क गराउन कुनै कठिनाई छैन । यद्यपि पत्रकारले प्रस्तुत गर्ने समाचार र विचार जस्तो आम नागरिकले प्रस्तुत गर्ने विषय समान हुन सक्दैन । पत्रकारको व्यावसायिक चरित्र गिरेका कारण आज पत्रकार र पत्रकार सम्वद्ध निकायको आलोचना भइरहेको छ ।

पत्रकार महासंघ श्रमजीवी पत्रकारको साझा संगठन भने पनि महासंघको भूमिका, नियमित क्रियाकलापले महासंघलाई श्रमजीवी पत्रकारको संस्था जस्तो बनाउन सकेको देखिँदैन । संघीय, प्रदेश, जिल्ला, प्रतिष्ठान विभिन्न तहमा महासंघको संरचना विकसित गरे पनि कुनै पनि तहबाट आवश्यकताअनुसारको काम हुन सकेको देखिन्न । यतिबेला नेतृत्व र साधारण सदस्यदेखि सरोकारवाला र आम नागरिकले समेत पत्रकार र पत्रकारको संस्थाको कमजोर स्थितिलाई मनन् गरेर यसो हुन नहुने धारणा राख्दै आएका छन् । पत्रकार र पत्रकारिता कमजोर हुँदा समाजलाई ठीक बाटोमा हिँडाउन, डो¥याउन समस्या हुने गरेको सरोकारवालाको बुझाई छ । स्वयम् पत्रकार र पत्रकार महासंघका पदाधिकारी समेतले आजको वास्तविकता बुझेर स्वयम् व्याख्या गर्ने अवस्था रहेको छ ।

यस्तो सन्दर्भमा आज हुने मतदान महासंघ र पत्रकारिता पेशालाई सुधारको बाटोमा अग्रसर गराउने असवर हुन सक्छ । पत्रकार महासंघलाई साझा संस्थाको रुपमा विकसित गर्ने, सञ्चार माध्यमको संस्थागत विकास गर्ने, सञ्चारकर्मीको पेशागत अभिवृद्धिका लागि योगदान गर्न सक्ने सक्षम नेतृत्व चयनमा मतदाता सञ्चारकर्मीले ध्यान दिनु जरुरी छ । जिल्ला तहबाटै मतदान गरिने भएकोले संघीय समिति र प्रदेश समितिका उम्मेदवारका विषयमा केही अध्ययन गर्नुपर्ने अवस्था देखिन्छ भने जिल्ला तहमा नेतृत्व चयन गर्दै गर्दा आकांक्षीको सीप, दक्षता, क्षमता, कार्यशैली, व्यवहारका बारेमा मनन् गरेर मतदान गर्ने अवस्था रहनुपर्छ । एक कार्यकाल अर्थात् तीन वर्षको अवधिमा सक्षम नेतृत्वले व्यावसायिक संगठनमा धेरै काम गर्न सक्छ । जसले पत्रकारिताको साख र पत्रकारको इज्जत बढाउन, क्षमता विकास गर्न योगदान गर्न सक्छ । त्यस्तो सक्षम उम्मेदवार चयनमा मतदाता पत्रकारले आफ्नो क्षमता प्रस्तुत गर्न सके अनिश्चितताका बीच निश्चित भएको महासंघको निर्वाचन कार्यक्रमले सार्थकता पाउनेछ ।