प्रतियोगितामा सहभागी विद्यार्थी ।

हेटौँडाः राक्सिराङ गाउँपालिका–६, सिलिंगेमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता भएको छ । मंगलबार दिगो विकासका लागि एकता नेपाल संस्थाको आयोजनामा भएको प्रतियोगितामा कक्षा ९ मा अध्ययनरत नविना चेपाङ प्रथम हुनु भएको संस्थाका परियोजना व्यवस्थापक अनिल पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा निराजन चेपाङ द्वितीय र उपाशना चेपाङ तृतीय भएका छन् । “हामी सबैको प्रतिवद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता” भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा शिक्षा स्वास्थ्य र जीविकोपार्जन अभियान अन्तर्गतको संस्थाको नियमित कार्यक्रममा वक्तृत्वकला प्रतियोगिता गरिएकोे पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा दिगो विकासका लागि एकता नेपाल परियोजना व्यवस्थापक अनिल पौडेलको सभाध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रावण लाल प्रजाको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लालमाया प्रजा र विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा ९ देखि १२ कक्षासम्मका १४ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३ हजार, २ हजार र एक हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको पौडेलले जानकारी दिनुभयो ।

संस्थाले राक्सिराङ गाउँपालिका अन्तर्गत ६, ७ र ८ नम्बर वडामा शिक्षा स्वास्थ्य र जीविकोपार्जनको विविध क्रियाकलापहरु संचालन गर्दै आएको छ भने विद्यार्थीलाई छात्रवृति, दिवा खाजा, शिक्षक सहयोग, स्वास्थ्य केन्द्र संचालन, १६ विद्यालय र ६ बाल विकास केन्द्रका विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण र तरकारी तथा बालीहरुको बीउ सहयोग, टनेल सहयोग र आवश्यक तालिम, मौसमी तथा बेमौसमी तरकारीका बीउहरु र प्रविधी सहयोग, समुदाय स्तरमा सशक्तीकरणका कार्यहरु गर्दै आएको छ ।