हेटौंडा १२ को वडाअध्यक्ष निर्वाचित अर्जुनप्रसाद तिवारी । फाइल तस्विर ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ मा पहिलो पटक काँग्रेसले जित निकालेको छ । लगातार माओवादीले जित्दै आएको उक्त वडामा पहिलो पटक काँग्रेस उम्मेदवारले जित निकालेका हुन् । काँग्रेसका अर्जुनप्रसाद तिवारीले स्थानीय तह उपनिर्वाचन अन्तर्गत मंसीर १६ गते भएको निर्वाचनमा पहिलो पटक काँग्रेसलाई जिताएका हुन् । उनले माओवादीका उम्मेदवार रवि कुमार प्रधानलाई हराउँदै विजयी भएका हुन् । तिवारीले २ हजार ६३ मत सहित चुनाव जित्दा माओवादीका प्रधानले १ हजार ५६० मत पाएका थिए । तेस्रो स्थानमा रहेको एमालेका उम्मेदवार राजेश नगरकोटीले १ हजार ७८ मत प्राप्त गरेका थिए ।

यसअघि तिवारी उक्त वडाको वडा अध्यक्ष पदको निर्वाचनमा २ पटक पराजित भएका थिए । संघीयता कार्यान्वयन पश्चात भएको २ वटा स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका तिवारी माओवादी केन्द्रका उम्मेदवारसँग पराजित भएका थिए । २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका ललित बहादुर घलानसँग पराजित भएका तिवारी २०७९ को स्थानीय तह निर्वाचनमा पनि पुनः पराजित भए । दुवै निर्वाचनमा झिनो मतान्तरे हारेका तिवारी निरन्तर गाउँमा नै रहेर काम गरिरहे । पदविहीन बने तर, गाउँ छाडेनन् । दुवै निर्वाचनमा माओवादीका घलानले जित निकाल्दा तिवारी दोस्रो बने । तर, गाउँको विकास र नागरिकको सेवामा उनी दोस्रो कहिल्यै बनेनन् ।

धैर्यता र लगनशीलताका कारण आफू निर्वाचनमा सफल भएको उनी बताउँछन् । तामाङ बाहुल्य हेटौंडा–१२ हेटौंडा उपमहानगरपालिकाको पिछडिएको क्षेत्र अन्तर्गत पर्दछ । ग्रामिण भेग र व्याप्त समस्याका बीचबाट वडावासीलाई पार लगाउन आफू उनी निरन्तर कर्मशील भएर लागेको उनी बताउँछन् । ‘म २०७४ को चुनावमा नै जित्थेँ । तर, प्राविधिक कारणले त्यतिबेला १०० मतले हार्नुपर्यो’, उनले भने, ‘नागरिकले त्यतिबेला नै मतले अनुमोदन गरेका थिए । तर, बदर मत र केही विषयहरु व्यवस्थापन गर्न नसक्दा चुनाव हार्नुपरेको थियो । २०७९ मा पनि नागरिकले चुनाव जिताएका हुन् । ३१ मतान्तरले चुनाव हारेको थिएँ त्यतिबेला । चुनाव हार्नुको कारण महसुस गरेर धैर्य गरिरहे । कमजोरी पत्ता लगाएर आफ्नो कर्ममा लागि रहेँ । अहिले कमजोरी सच्याएँ । बिग्रेका विषयलाई सुधार गरेँ । अनि चुनाव जितेँ ।’

पञ्चायतकालदेखि नै गाउँको विकास र नागरिकको सेवामा काम गर्दै आएका तिवारी पटक–पटक चुनाव हारे तर, गाउँबाट हराएनन् । पदमा नरहेपनि उनी गाउँमा बजेट पु¥याएर विकासको काममा सक्रिय भए । वडा अध्यक्ष जितेकाले भन्दा बढी बजेट आफूले पहुँच पुर्याएर गाउँ लगेको उनी दावी गर्छन् । चुनाव हारेपनि गाउँलाई नै कर्मभूमि बनाएर नागरिकको दुःखको सारथी बनेका तिवारीले आफ्नै पहुँचमा समानुपातिक रुपमा सडक पुल, खानेपानी, सिंचाई, पर्यटन, संस्कृति क्षेत्रमा बजेट लगेर विकासको काम गरेको दावी गर्छन् ।

गाउँका मानिसलाई समस्यामा उनी पक्षपात नगरी सहयोग गर्न पुगिहाल्छन् । सोही कारणले नागरिकले आफुलाई चुनाव जिताएको उनको भनाई छ । निर्वाचन भएपश्चात आफू वडा विकासमा लाग्ने बताए । २ वर्ष भित्र गाउँका सडक पुल निर्माणको काम गरेर शहरी रुप दिने उनले बताए । शिक्षा र स्वास्थ्यको पूर्वाधार तथा अवस्था कमजोर रहेकाले त्यसलाई सुधारका लागि प्राथमिकताका साथ अघि बढ्ने उनको भनाई छ । उपमहानगरपालिकाको स्रोतले गाउँको विकासलाई पर्याप्त नहुने भएकाले छिट्टै नै संघ र प्रदेश सरकारबाट बजेट माग गरेर विकासको काम अघि बढाउने योजना बनाएको तिवारी बताउँछन् । गाउँको स्वरुपसहितको विकासको योजना २०७४ मा नै निर्माण गरेर अघि बढेकाले त्यसको कार्यान्वयनको मिसन सुरु भएको उनले बताए ।

२०६३/०६४ को परिवर्तनपछि उक्त वडामा माओवादीको प्रभाव राम्रो थियो । २०६४ को संविधानसभा निर्वाचनमा मकवानपुरको ४ क्षेत्रमा जित निकालेको माओवादीले हेटौंडा–१२ लाई लालकिल्लाको रुपमा परिभाषित गर्दै आएको थियो । पञ्चायतकालमा राप्रपाको गढ तत्कालिन पदमपोखरी गाविसको ४, ५, ७, ८ र ९ वटा वडा मिलेर हाल हेटौंडा–१२ कायम भएको हो । पञ्चायत पश्चात सो क्षेत्रमा एमालेले शासन गर्यो भने २०६४ को निर्वाचन पश्चात माओवादीको किल्ला बन्दै आएको छ । सो वडामा एमालेको प्रभाव पनि राम्रै रहेको छ । संविधानसभा निर्वाचनतका निकै कमजोर अवस्थामा रहेको कांग्रेसलाई १८ वर्षको बलियो जगमा उभ्याउन सफल भएको छ ।

२०६४ र २०७० को निर्वाचनमा सो क्षेत्रमा क्रमशः माओवादी र एमालेले चुनाव जित्यो । तर, विकास निर्माण र सेवा प्रवाह जनताको अपेक्षा अनुसार हुन सकेन । पुलको अभावमा वडावासी खहरे र खोलाको जोखिमै रहे । पुल निर्माण र खानेपानीको योजनासहित पटक–पटक नेता भेट्ने काम भयो तर, न पुल आयो न गाउँलेले खानेपानी पाए । संघीयतापछि २ पटक उक्त वडामा माओवादीले जित्यो । तर, वडाको समानुपातिक विकास हुन सकेन । वडा कार्यालय आसपास ठुला र पक्की सडक बने । तर, तल्लो राप्ती खोलाको क्षेत्र अझै पनि विकास हुन सकेको छेन । २० वर्ष अघिकै अवस्थामा सडक पूर्वाधार कायम रहेको छ ।

संघीयतापछि जसोतसो २ वटा पुलहरु निर्माण भए । आवतजावतमा सहजता भयो । तर, यात्रा अझै पैदल नै रहेको छ । पूर्वाधार बन्यो । तर, व्यवस्थापन हुन सकेन । जसका कारण अझै उक्त क्षेत्रका नागरिकहरु हिँडेर नै हेटौँडा बजार आवतजावत गर्छन् । यसैबीच पटक–पटक चुनाव हारेका कांग्रेसका तिवारीले तेस्रो प्रसासमा माओवादी केन्द्रको लालकिल्ला भत्काउन सफल भएका हुन् । उनको प्राथमिकता पहुँच नपुगेका क्षेत्रको विकास रह्यो र नागरिकको मत जित्न सफल भए ।