हेटौंडा : हेटौँडामै कानून विषयको स्नातक तह अध्ययन गर्न पाउने भएको छ । ६ वर्षअघि कक्षा ११ मा कानून विषय पठनपाठन सुरु गरेको हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा हेटौँडा उपमहानगरपालिकाको अग्रसरतामा सिद्धार्थ ल क्याम्पस स्थापना भएसँगै कानून विषयको स्नातक तह हेटौँडामै पढ्न पाउने भएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर सिद्धार्थ ल क्याम्पस स्थापना गरिन लागेको हो । सिद्धार्थ ल क्याम्पसले भोलि शुक्रबार कानूनमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम राखेको छ । स्नातक तहको पठनपाठन हुने भनिएपछि आवश्यक तयारी र प्रचारप्रसार गरिएको सिद्धार्थ ल क्याम्पसका अधिकारीले जनाएका छन् । ६० जना विद्यार्थी पढाउन पाउने गरी सम्बन्धनको अन्तिम चरणमा रहेको सिद्धार्थ ल क्याम्पसमा पहिलो वर्ष ३० भन्दा बढी विद्यार्थी भर्ना हुने अनुमान गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।

स्नातक तहको अध्यापनका लागि जनशक्ति व्यवस्थापनको कार्य भइसकेको छ । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको उपस्थितिमा शुक्रबार अभिमुखीकरण कार्यक्रम हुनेछ । अभिमुखीकरण कार्यक्रम प्रवेश परीक्षा केन्द्रित पनि हुनेछ । ६ वर्षदेखि कक्षा ११ र १२ मा कानून विषय अध्यापन गरेको सिद्धार्थ माध्यमिक विद्यालयमै स्नातक तहको कार्यक्रम पनि सुरु गर्दा विद्यार्थीका लागि पनि सहज हुने दावी गरिएको छ ।

सिद्धार्थ ल क्याम्पसका प्रमुख मोहनप्रसाद शर्माले सम्बन्धनको प्रक्रिया अन्तिम चरणमा भएसँगै अभिमुखीकरण कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो । सबैको साथ र सहयोगमा स्नातक तहको कार्यक्रम सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । अभिमुखीकरणपश्चात् एक हप्ताभित्र प्रवेश परीक्षा लिने क्याम्पस प्रमुख शर्माले जानकारी दिनुभयो । सिद्धार्थ माविमा अहिले कक्षा ११ र १२ मा कानुन विषय पढ्ने ८५ जना विद्यार्थी छन् ।