प्रदर्शनीमा राखिएको हस्तकलाका सामग्री ।

हेटौँडाः स्थानीय उत्पादन प्रोत्साहन गर्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूह र साना मझौला उद्योगका उत्पादनको प्रदर्शनी हेटौँडामा सुरु भएको छ । बिहीबार र शुक्रबार दुईदिन सञ्चालन हुने मेला हेटौँडा–२ स्थित एक होटल परिसरमा सुरु भएको हो ।

हेटौंडा–२ स्थित पल्पसा सदनमा बिहीबार शुरु प्रदर्शनी एलोई प्रालि र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको साझेदारीमा भएको हो । प्रदर्शनीमा मकवानपुर जिल्लाका विभिन्न स्थानका सामुदायिक वन उपभोक्ता समूह र महिला समुहहरुले हस्तकलाका सामग्री, काष्ठकलाका सामग्रीसँगै खाद्यवस्तुका स्टल तथा स्थानीय कृषिसम्बन्धी २ दर्जन स्टल राखेका छन् ।

प्रदर्शनीमा हेटौंडा–४ स्थित जाल्पादेवी महिला उद्यमी केन्द्रका सदस्यहरुले बनाएको मकैको खोस्टाको फुल, गुँदको चोयाको ब्याग र टोपी (ह्याट) ढाकाको साडी र सल, वासकोट, कोट, खादा आदि राखेका छन् । हेटौंडा–१२ स्थित कञ्चनजंघा कृषि सहकारीले उत्पादन गरेको रायोको सागको गुन्द्रुक र अचार, हेटौंडा–१० स्थित एकल महिला केन्द्रले उत्पादन गरेको बाटेको धुप, मास र कर्कलोको मस्यौरा, मुलाको सिन्की, अमला तथा मेथी, जिरा, अमलाको सुकुटी, हर्रो बर्रो, बिरे नुन, धनिया, मरिच, मुलाको बीउ, धनिया र अकबरे खुर्सानीको मिश्रणले बनेको पाचक लगायतका औषधिजन्य सामग्री प्रदर्शनीमा राखेका छन् ।

हेटौंडा–२ की उद्यमी जानुकी सुवेदीले माटोको चुल्हो, मनहरी गाउँपालिका–४ स्थित वनकरिया वस्तीका महिला समूहले तितेपाती र घ्युकुमारीद्वारा बनाइएको साबुन प्रदर्शनीमा राखेका छन् । चुच्चे खोला सामुदायिक वन उपभोक्ता समूहले सालकको चित्र अंकित फ्रेम लगायत हस्तकलाका सजावटका सामग्री, हेटौँडा–५ स्थित श्रमजीवी महिला काष्ठकला उद्योगबाट उत्पादन भएको दारको ठेकी, फोटो फ्रेम, घण्टी फ्रेम, मायाको चिनो, बुङ्दल सामुदायिक वन समूहका महिला उद्यमीले धुलो बेसार र चाना बेसार, हेटौँडा–६ रामनगरका सक्रिय महिला उद्योगीहरुले आलुको चिप्स, मुंग, चना, बदाम, बेसन आदिको आफैले बनाएको जैविक दालमोठहरु बिक्री वितरणका लागि राखेका छन् । वन समूहका साथै घरेलु उत्पादनलाई सशक्त बनाउन र दिगो आर्थिक विकास प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको जनाएको छ । प्रदर्शनीमा अवलोकन गर्ने सर्वसाधारणको भने न्यून उपस्थिति रहेको छ ।

प्रदर्शनीमा राखिएको हस्तकलाका सामग्री ।