हेटौँडाः जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मुद्दाका फरार भएका ७ जनालाई पक्राउ गरेको छ । बारा जिल्ला अदालतले विभिन्न मितिमा फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय तोकिएर फरार प्रतिवादीहरुलाई बारा प्रहरीले बुधबार पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी आवश्यक कार्वाहीका लागि बारा जिल्ला अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।
पक्राउ पर्नेमा ५ जना चेक अनादरसम्बन्धी मुद्दाका छन् भने १ जना जबर्जस्ती करणी र १ जना झिटकैया वनको मुद्दाका प्रतिवादी रहेको प्रहरी नायव उपरीक्षक सापकोटाले जानकारी दिनुभएको छ । बारा प्रहरीले चेक अनादरसम्बन्धी मुद्दामा जीतपुर–सिमरा उपमहानगरपालिका–९ का पहलाद चौधरी, राधाराम दुसाध र सरिता चौधरी, जीतपुर–सीमरा उपमहानगरपालिका–७ का अतुल रायमाझी र कलैया उपमहानगरपालिका–१५, बकुलहरका अनसारूल हल अन्सारीलाई नियन्त्रणमा लिएको छ । यस्तै कलैया उपमहानगरपालिका–१६, उत्तर झिटकैया वनको मुद्दामा पन्नालाल मण्डल र जबर्जस्तीकरणीसम्बन्धी मुद्दामा जितपुर–सिमरा उपमहानगरपालिका–७ का करण सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।
अदालतले सरिता चौधरीलाई चेक अनादर मुद्दामा ३ सय रुपैयाँ, पहलाद चौधरीलाई ५ सय रुपैयाँ, राधाराम दुसाधलाई ५ सय रुपैयाँ, अतुल रायमाझीलाई ५ सय रुपैयाँ र अनसारुल हल अन्सारीलाई १ हजार रुपैयाँ जरिवाना हुने फैसला अदालतले गरेको थियो । यस्तै झिटकैया वनको मुद्दामा पक्राउ परेका पन्नाल मण्डललाई १ वर्ष कैद र ५ हजार ७ सय ८९ रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो भने जबर्जस्तीकरणीको मुद्दामा करण सहनीलाई २ बर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको पैmसला गरेको थियो ।