जेसीज सप्ताहबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराइँदै ।

हेटौँडाः जेसीआई हेटौँडाले वर्ष २०२४ को जेसीज सप्ताह कार्यक्रम विविध कार्यक्रम गरी ४ दिनमा सम्पन्न गर्ने भएको छ । सोमबार हेटौँडा–९ स्थित जेसीआई हेटौँडाको सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरेर जेसीआई हेटौँडाका अध्यक्ष विकेश लाल श्रेष्ठले कार्यक्रमबारे जानकारी गराउनुभएको छ ।

मंगलबारदेखि सुरु हुने जेसीज सप्ताहअन्तर्गत पहिलो दिन मनकामना अपहिल साइक्लिङ र वक्तृत्वकला कार्यक्रम हुनेछ । हेटौँडा–५, सिचाइटोलबाट मकवानपुरगढी गाउँपालिकाको मनकामना मन्दिरसम्म अपहिल साइक्लिङ हुनेछ । साइक्लिङ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ९ हजार, ६ हजार र ३ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । वक्तृत्वकला प्रतियोगिता जेसीज सदस्यबीच नै हुनेछ ।

दोस्रो दिन बुधबार हेटौँडा–१५, चिप्लेटीस्थित विश्वज्योति आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ । सन् २०१५ देखि निरन्तर विश्वज्योति आधारभूत विद्यालयलाई जेसीजले सहयोग गर्दै आएको छ । तेस्रो दिन बिहिबार रक्तदान कार्यक्रम, स्लो मोटरबाइक कम्पिटिसन, लागुऔषध दूव्र्यसनबारे सचेतनासम्बन्धी कार्यक्रम तय गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

जेसीज सप्ताहको अन्तिम कार्यक्रमको रुपमा समापन तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार हुनेछ । जेसीज सप्ताहको मूल कार्यक्रम संयोजक कार्यकारिणी उपाध्यक्ष विवेक आनन्द न्यौपाने रहनुभएको छ । जेसीजमा सहभागी युवाको नेतृत्व र व्यक्तित्व विकासका क्रियाकलाप गर्नुका साथै समाजमा उल्लेखनीय सामाजिक काम पनि गर्दै जाने अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।