सांकेतिक तस्वीर । स्रोतः गुगल ।

हेटौंडाः हेटौंडामा पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको छ । तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदानसहित प्रथम संस्करणको खुल्ला पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको हो । हेटौंडा–४, हुप्रचौरमा आउँदो शुक्रबार प्रतियोगिता हुनेछ । कर्रा युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा ८ वटा टिम दर्ता भइसकेको र केही क्लब थपिन सक्ने प्रतियोगिताका संयोजक राशिष मगरले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा सहभागी हुनका लागि आउँदो बिहिबारसम्म टिम दर्ता गराइसक्नुपर्ने र साँझ खेल तालिका सार्वजनिक गरिने संयोजक मगरले बताउनुभयो । प्रतियोगितामा सहभागी हुनका लागि दर्ता शुल्क २ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । खेलाडीहरुबीच भातृत्व कायम गराउन, खेलको महत्वबारे बुझाउन र तिहार लगायतका पर्वहरुको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको उहाँले बताउनुभयो ।

प्रतियोगिताको उपाधि विजेता टिमले ३० केजीको खसीसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २० केजीको खसीसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । असोज महिनाको १९ र २० गते दशैँ अघि नै हुने भनिएको पेनाल्टी सुटआउट प्रतियोगिता विविध कारणले स्थगित गर्नुपरेको थियो ।