प्रदेश प्रमुख देपकोटासँग प्रदेश लोकसेवा आयोगको अध्यक्षको नियुक्ति बुझ्नुहुँदै श्रेष्ठ ।

हेटौँडाः बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त हुनुभएको छ । आइतबार बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बागमती प्रदेशको लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठलाई नियुक्त गर्नुभएको हो । श्रेष्ठले सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासँग सपथ समेत लिइसक्नुभएको छ ।

गण्डकी प्रदेशको नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ निवासी श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा १ बमोजिम गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा २ बमोजिम आयोगको अध्यक्षमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयका कानुन अधिकृत प्रकाश चापागाईले आइतबार एक विज्ञप्ति जारी गर्नुहुँदै लोकसेवा आयोग अध्यक्ष नियुक्तिको जानकारी गराउनुभएको हो । सिफारिस समितिमा प्रदेशका मुख्यमन्त्री सहित विपक्षी दलका नेता र प्रदेश सभाका सभामुख सदस्य रहने व्यवस्था छ ।

श्रेष्ठले गत शुक्रबार मात्रै लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तालिम केन्द्रबाट अनिवार्य अवकास पाउनुभएको थियो । उमेर हदका कारण ६० वर्ष उमेर पुगेसँगै श्रेष्ठको अनिवार्य अवकास भएको हो । निजामति सेवाको सहसचिव (११औं तह) बाट अनिवार्य अवकास पाए लगत्तै श्रेष्ठले प्रदेश सरकारको लोकसेवा आयोगको अध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारी पाउनुभएको हो । श्रेष्ठ बागमती प्रदेश सरकार मातहतको स्वास्थ्य निर्देशकको रुपमा पनि काम गर्नुभएको थियो ।

श्रेष्ठको नियुक्तिलाई लिएर टिकाटिप्पणी समेत भएको छ । २०७६ साल माघ २ गते नियुक्त हुनुभएका संस्थापक अध्यक्ष सुरेश मान श्रेष्ठले गत चैत २ गते उमेर हदका कारण अनिवार्य अवकास हुनुभएको थियो । सुरेश मान श्रेष्ठको अवकासपछि ७ महिना अध्यक्षबिहिन बनेको आयोगमा महेश्वर श्रेष्ठ अवकासलगत्तै नियुक्ति हुनुले टिकाटिप्पणी भइरहेको छ । यता अध्यक्षको रिक्ततामा वरिष्ठ सदस्यको रुपमा अध्यक्षको भूमिका समेत निर्वाह गरिरहनुभएका सुदर्शन प्रसाद ढकालले भने आफू भन्दा कनिष्ठलाई अध्यक्ष नियुक्त गर्न लागेको भन्दै राजिनामा समेत गरिसक्नुभएको छ ।

स्वास्थ्य सेवामा अनिवार्य अवकास पाएर एक दिन पनि बिदामा नबसी अर्को कार्यदिनमा लोकसेवा आयोगको अध्यक्षको जिम्मेवारी पाउनुलाई कतिपयले आश्चर्य मानेका छन् । आयोगको अध्यक्ष हुने व्यक्ति नै उपलब्ध नभएर महेश्वर श्रेष्ठलाई नै कुरिरहेको जस्तो देखिने र ७ महिना रिक्त रहेको पदमा महेश्वर श्रेष्ठको उपलब्धतासँगै हतासमा नियुक्ति दिइनुलाई चासोका साथ हेरिएको छ ।