यातायात सेवा लामो समयदेखि बन्द हुँदा देशको अर्थतन्त्रदेखि नागरिकले समेत कष्ट उठाउनु परिरहेको छ । कोभिड–१९ का कारण देशका सबैक्षेत्र विस्तारै तंग्रिन खोज्दै छन् तर यातायात क्षेत्र अझै अनिश्चित छ । यसको प्रत्यक्ष मार नागरिकले सहनु परेको छ । देशको अर्थतन्त्रको मेरुदण्ड मध्येको महत्वपूर्ण क्षेत्र पनि सुचारु बनाउन आवश्यक छ । तर, सरकारको स्पष्ट योजना नहुने र संकटमा पनि मोलमोलाई गर्ने व्यवसायीको कारण तत्काल वातावरण सहज बन्ने अवस्था देखिएको छैन । निजी भन्दा सार्वजनिक यातायात सन्चालन गर्दा कोरोनाको जोखिम भए पनि नागरिकको आवश्यकतालाई प्राथमिकतामा राख्नु पर्दछ । सरकारले निजी सवारीलाई सहजै सन्चालन गर्न दिएको छ भने सार्वजनिक यातायातले सर्तहरु पालना गर्नुपर्ने छ ।

बन्दाबन्दीले निजी सवारी सन्चालनमा असर गरेको छैन भने अन्य क्षेत्र खुल्ला हुँदै गर्दा सार्वजनिक यातायात अझै अनिश्चित छ । सरकारले सन्चालन गर्न अनुमति त दिएको छ । तर राज्यले पुरा गर्नुपर्ने दायित्व बाँकी देखिन्छ । सिट क्षमता भन्दा आधि मात्र यात्रु राखेर बस सन्चालन गर्दा व्यवसायीलाई हुने नोक्सानी यात्रुले मात्र व्यहोर्नु पर्ने सरकारको निर्णय उचित मान्न सकिँदैन । यातायात क्षेत्रमा राज्यको कुनै जिम्मेवारी हुँदैन ? यस्तै सुरक्षा सतर्कताका लागि अपनाउनु पर्ने प्रवन्धदेखि जोखिमको दायित्व सम्बन्धमा व्यवसायी र राज्य स्पष्ट हुनै पर्दछ । सवैकुरा व्यवसायीले वा सरकारले मात्र भन्दा पनि सामुहिक जिम्मेवारी लिन तयार हुनै पर्दछ । अडान र निर्देशन भन्दा पनि सहमतिबाटै नागरिकलाई सेवा दिने व्यवस्था मिलाउनु पर्ने खाँचो छ ।

कोभिड–१९ को संक्रमण रोकिएको छैन । अझै केही समय यसको जोखिम बढ्ने विश्व स्वास्थ्य संगठनले बताइरहेको छ । महामारी निर्मूल पार्ने वा भाग्ने भन्दा पनि सँगै बाँच्न सिक्नुपर्ने छ । रोगले भन्दा पनि भोकले मर्ने अवस्था आउन नदिन व्यवसाय सन्चालन हुनै पर्दछ । तर यसका लागि सुरक्षा सतर्कता पर्याप्त हुनै पर्दछ । विश्वका धेरै मुलुकमा संक्रमण कम नहुँदै सार्वजनिक सवारी सन्चालनदेखि विद्यालयहरु समेत खुलेका छन् । तर संक्रमण बढ्न थालेपछि फेरी लकडाउन गर्नु परेको अवस्था नेपालमा नदोहोरियोस् भन्ने विषयमा गम्भीर हुनै पर्दछ । विश्वका अन्य देशको व्यवहारलाई शिक्षाका रुपमा लिएर रणनीति बनाउन सक्नु पर्दछ ।

सार्वजनिक यातायात सन्चालन आवश्यक छ । यसमा नागरिकले पनि साथ र सहयोग दिनुको विकल्प छैन । जीवन सुचारु गर्नका यातायात सन्चालन गरिनु अनिवार्य नै हो । राज्य र व्यवसायीहरुले आफ्नो जिम्मेवारी र दायित्व ईमान्दारीपूर्वक पालना गर्न तयार हुनु पर्दछ । राम्रो भए जस आफ्नो र बिग्रिए दोष अर्काको जिम्मा लगाउने प्रवृत्ती त्याग्नु पर्दछ । सुरक्षाका नयाँ तरिका अपनाएर नागरिक जीवन सहज बनाउनुको विकल्प छैन । संक्रमणबाट सुरक्षित हुनेगरी यात्रु व्यवस्थापन गरिनु पर्दछ । आवश्यक पर्ने सहयोग राज्यले पनि दिन तयार भए मात्र यातायात सन्चालनमा सहभागिता हुनेछ । यस्तै छोटो दूरीका सवारी सन्चालन अनुमति हुँदा लामो दूरीलाई पनि एउटै मापदण्डका आधारमा सन्चालन गराउनु उचित हुन्छ होला ।