सुजन तिमल्सिना

राजनीति बिनाको प्रशासन अभिभावकविहिन हुन जान्छ भने प्रशासन बिनाको राजनीति गतिहिन हुन्छ । राजनीतिको कुशल अभिभावकत्व र प्रशासनको व्यावसायिकताले निखारिएको परिष्कृत कार्यसम्पादनले नै राज्य व्यवस्था जिवन्त र पूर्ण हुने गर्दछ । साधारण बोलीचालीको भाषामा स्पष्ट पार्नु पर्दा सरकार प्रमुखहरुले मातहतका कर्मचारी प्रशासनलाई काम गर्न सुझाउँदा नियम कानून नै नहेरी सम्पादन गर्ने हैन । भन्नुको मतलब प्रशासनले आँखा चिम्लेर कार्य सम्पादन गर्ने होइन । प्रशासनले नियम कानून औँल्याएर सम्पादन गर्नु प्रशासनको धर्म हो त्यसैले यस्लाई प्रशासनको व्यावसायिकता भन्न सकिन्छ ।

प्रशासन बिनाको राजनीति गतिहिन हुन्छ अर्थात जसरी प्रशासन र राजनीतिक बीच एउटा तारतम्य मिलेर एक खालको फड्को मारिरहेको छ शासन पद्दतीले यो एउटा मात्र पाटो हुदाँ असम्भव छ । उदाहरणको लागि कुनै सरकार प्रमुखले राजनीतिक बहकाउमा लागेर नियम, कानून भुलेर केही निर्णय गरिहाले भने त्यसलाई प्रशासनले रोक्न र उचित बाटोमा लेराएर सम्पादन गर्न सक्दछ । त्यसैले राजनीति र प्रशासन आँखा र हात जस्तो सम्बन्ध भएको अंग हुन् । (आँखा र हात जस्तो सम्बन्ध भन्नाले आँखामा केही भईहाल्यो भने सुमसुमाउन हात पुगिहाल्छ र हातलाई केही भयो भने आँखाले नजर पुर्‍याइहाल्छ) प्रसंगले अर्को अर्थ नलागेमा यो भनाइलाई यहि भावनामा मात्र सीमित नराखी राजनीति र प्रशासनमा ढालेर हेर्दा आ“खालाई राजनीतिक विषयको रुपमा हेरौं र हातलाई प्रशासनको रुपमा । राजनीतिक अभिभावकले पर पर हेरेर दूरदृष्टि राखेर कार्य गर्न सुझाउनु हुन्छ र प्रशासनले राजनीतिक अभिभावकले अह्रायाएको कार्य प्रभावकारी ढंगबाट सम्पादन गर्दछ । त्यसैले आँखा राजनीतिक विषय र हात प्रशासनिक विषय मान्न सकिन्छ ।
अब राजनीति बिनाको प्रशासनको चर्चा गरौं । राजनीति बिनाको प्रशासन अभिभावकविहिन हुन जान्छ । प्रशासनले कहिले काही एक–दुई जना कर्मचारीको व्यक्तिगत स्वार्थमा भुलेर अनावश्यक, अपरिपक्व र गलत निर्णय हुन सक्दछ । यदि प्रशासन भन्दा माथि राजनीति रहिरह्यो भने राजनीतिको मर्यादा गरेर होस वा राजनीतिको डर मानेर होस् अनावश्यक वा गलत कार्य गर्न सक्दैन त्यसैले प्रशासन र राजनीतिको अर्थपूर्ण सहकार्यले नै भष्टाचारमा कमि, सरकारी कार्यालयहरुमा कामकाजमा छिटो छरितोपना ल्याउन सकिन्छ । हामी आफै मनन गरौं, स्थानीय तहहरुमा जनप्रतिनिधी नहुदाँ र हुदाँकामकाजमा के कति फरक पाएका छौं ।
कतिपय सन्दर्भमा असहज परिस्थितीका कारण राजनीतिक निष्क्रियता, अस्थिरता, नेतृत्वविहिनता तथा राजनीतिक शून्यता भएको अवस्थामा प्रशासनले नै राज्यको शासकीय नेतृत्व सम्वहन गरेको इतिहास पनि छ । त्यस बखतमा प्रशासनले कुशल ढंगबाट शासन नगरेको पनि होइन तर राजनीति र प्रशासन बीचको अर्थपूर्ण ऐक्यबद्धता, सहकार्य र संयुक्त प्रयासबाट नै राज्यको शासनले मूर्तता धारण गर्दछ । यसर्थ राजनीतिक तथा प्रशासनिक संरचना बिना राज्य व्यवस्था असम्भव भएको तथ्यले यी दुईबीचको अन्योन्याश्रित सम्बन्धलाई संकेत गर्दछ ।