मकवानपुरगढी गाउँपालिकाले मंगलबार गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट पारित गरेको छ । गाउँपालिकामा मंगलबार बसेको गाउँसभाको बैठकले आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित गरेको गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले जानकारी दिनुभयो । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६४ करोड ८२ लाख १३ हजार रुपैयाँको बजेट पारित गरेको अध्यक्ष हुमागाईको भनाइ थियो । कृषिमा अगाडि रहेको गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

मकवानपुरगढी गाउँपालिकाले आन्तरिकतर्फ ७ करोड ४१ लाख ६० हजार रुपैयाँ आय हुने अनुमान गरेको छ । संघीय सरकारबाट ४४ करोड १६ लाख, ३७ हजार रुपैयाँ, प्रदेश सरकारको अनुदान, वित्तीय, घरजग्गा, सशर्त, समपुरक र विशेषगरी ८ करोड १७ लाख १० हजार आम्दानी हुने गाउँपालिकाले जनाएको छ । पालिकाले पँुजीगततर्फ ३२ करोड ६९ लाख ४७ हजार रुपैयाँ र चालुतर्फ २७ करोड ५ लाख ६० हजार बजेट विनियोजन गरेको छ । मकवानपुरगढी गाउँपालिकाले शैक्षिक क्षेत्र सुधार तथ नियमनका लागि आवश्यक शिक्षा नियमावली तयार पार्ने, पालिकाभित्र स्नात्तकोत्तर तहको क्याम्पसको स्थापना गर्न सम्भाव्यता अध्ययन गर्ने, समस्या पहिचान गरेर सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउ कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

गाउँपालिकाले स्वास्थ्यतर्फ शिशु, बाल तथा मातृ मृत्युदर घटाउने र महिलाको प्रजनन् स्वास्थ्यमा सुधार ल्याउन वर्थिङ सेन्टरमै प्रसुती गराउने व्यवस्थालाई प्रभावकारी बनाउन संघीय सरकारबाट प्राप्त हुने दुई हजार आठ सय रुपैयाँ सुत्केरी प्रोत्साहन भत्तामा गाउँपालिकाको आन्तरिक आयबाट थप दुई हजार दुई सय रुपैया सहित कुल पाँच हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । गाउँपालिकालाई पूर्णखोपयुक्त पालिका घोषणा गरिसकेकोले पूर्णखोप घोषणालाई थप प्रभावकारी र निरन्तरता कायम राख्न गाउँघर क्लिनिक कार्यक्रमलाई सुदृढ बनाउने भएको छ । खानेपानीतर्फ गाउँपालिकाले खानेपानी व्यवस्थापन बोर्ड गठन गरी संस्थागत संरचना तयारी खानेपानी उपभोक्ता समितिलाई बोर्ड अन्तर्गत राख्ने जनाएको छ ।

खेलकुदतर्फ गाउँपालिकास्तरीय खेलकुद मैदान निर्माण गर्ने, गाउँपालिकास्तरीय खेलकुद विकास समिति गठन गर्ने, समितिमार्फत खेलकुद क्यालेण्डर निर्माण गर्ने बजेटमा उल्लेख गरिएको छ । मकवानपुरगढी गाउँपालिकाले २०७८ सालभित्र बालमैत्री गाउँ घोषणा गर्ने, बालबिवाहमुक्त पालिका घोषणा गर्ने, बालबालिकालाई परिवार तथा सामाजिक संरक्षण सुनिश्चित गर्ने जनाएको छ ।

बकैयाको बैठक फेरि सर्‍यो
बकैया गाउँपालिकाको बैठक मंगलबार पनि सरेको छ । यसअघि असार २६ गते गाउँसभाको बैठक बोलाइएको थियो । तर नियमित वर्षाले गर्दा बैठक हुन सकेको थिएन ।

मंगलबार पनि वर्षाकै कारण वडा नम्बर १, १०, ११ र १२ का जनप्रतिनिधिहरु मोरङगे खोला तर्न नसकेकोले गाउँसभाको बैठक स्थगित भएको गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिनुभयो । उहाँले बैठक कहिले बस्ने भन्ने टुङ्गो नलागेको भन्दै मोरङ्गे खोला तर्न सक्ने भएपछि गाउँसभाको बैठक बसेर आगामी आर्थिक वर्षको बजेट पारित गरिने बताउनुभयो ।