हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले सञ्चालन गरेको एसईई ग्रेडवृद्धि मौका परीक्षाको तयारी कक्षा प्रभावकारी नभएको र त्यसको समीक्षा गर्न आग्रह गरिएको छ । एक साताअघि राष्ट्रिय परीक्षा बोर्डले एसईई ग्रेडवृद्धि मौका परीक्षाको नतीजा सार्वजनिक गरेको थियो । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाका अध्यक्ष भोगेन्द्र लुइटेलले शनिबार बिहान हेटौँडामा आयोजित कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाले सञ्चालन गरेको एसईई ग्रेडवृद्धि मौका परीक्षाको तयारी कक्षाहरु प्रभावकारी नभएको भन्दै त्यसको समीक्षा गर्न आग्रह गर्नुभएको हो ।
नगरस्तरीय शैक्षिक समन्वय समितिले नै आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगरप्रमुख मीना कुमारी लामा नै उपस्थित रहनुहुँदा अध्यक्ष लुइटेलले यस्तो प्रस्ताव गर्नुभएको हो । उपमहानगरपालिकाले विभिन्न केन्द्रहरु निर्धारण गरेर ग्रेडवृद्धि मौका परीक्षाको तयारी कक्षा सञ्चालन गरेको थियो । सम्बन्धित विद्यालयलाई नै तयारीका लागि जिम्मेवार बनाउन र सहयोग गर्न सकेको भए राम्रो हुने धारणा राख्नुहुँदै अध्यक्ष लुइटेलले भन्नुभयो, “केन्द्र निर्धारण गरेर ग्रेडवृद्धि मौका परीक्षाको तयारी प्रभावकारी हुन सकेन । यसको समीक्षा गरौं । सम्बन्धित विद्यालयलाई नै जिम्मेवार बनाउन सकेको भए राम्रो हुन्थ्यो ।”
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख मीना कुमारी लामाले उपमहानगरसँग शिक्षा क्षेत्रमा आवश्यक काम गर्न बजेट पर्याप्त नभएको बताउनुहुँदै सक्दो प्रयास गरिरहेको बताउनुभयो । प्रारम्भिक बालविकास कक्षाका सहयोगी शिक्षकको तलब २० हजार रुपैयाँ पुर्याइएको उल्लेख गर्नुहुँदै प्रधानाध्यापकको सुविधा बढाइएको बताउनुभयो । नगरप्रमुख लामाले सबैको सल्लाह, सुझावमा शिक्षा क्षेत्रमा राम्रो काम गर्न आफू तयार रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले वडाको शैक्षिक गुणस्तर सुधार समिति र नगरस्तरीय शैक्षिक समन्वय समिति मिलेर राम्रो काम गर्न आग्रह गर्नुभयो । वडाले ५० प्रतिशत काम शिक्षामा गरिरहेको र शिक्षाको हबको रुपमा विकास गर्न चाहेको अध्यक्ष सिग्देलले बताउनुभयो । शिक्षक नेताको विद्यालय सुधारिएको हुनुपर्ने धारणा राख्नुहुँदै शिक्षकले विषयगत प्रस्तुती गर्न नसके पढाउन छाड्नुपर्ने वडा अध्यक्ष सिग्देलको भनाइ थियो ।
सेवा निवृत्त शिक्षक ऋषिराम पोखरेलले शिक्षणका नयाँ आयाम र अवधारणालाई बुझ्दै गर्दा ४२ वर्ष शिक्षण सेवाको अवधिमा आफूले पढाउन नजानेको बताउनुभयो । विद्यार्थीले प्रश्न सोध्न नै नसक्ने अवस्था नै पढाउन नजान्नुको मापक भएको उहाँको जीकिर थियो । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालले शिक्षकको क्षमता, दक्षता अभिवृद्धिका लागि तालिम, अतिरिक्त क्रियाकलाप समन्वय समितिमार्फत सञ्चालक गर्न सके राम्रो हुने सुझाव दिनुभयो । पालिकाले नगरस्तरीय शैक्षिक समन्वय समितिसँग सहकार्य गरेर शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न सक्ने दाहालको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डको हेटौँडास्थित कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरेले जिल्लाको समग्र शैक्षिक अवस्था राम्रो रहेको उल्लेख गर्नुभयो । नगरस्तरीय शैक्षिक समन्वय समितिको कामकै कारण नगरभित्रका विद्यालयको परीक्षा व्यवस्थापनमा ठूलो सहयोग पुगेको घिमिरलेले बताउनुभयो । शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जीधराज ढकालले हेटौँडा उपमहानगरपालिकाले शिक्षकको दक्षता अभिवृद्धिका लागि तालिमका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।