सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने

हेटौँडाः बागमती प्रदेश सरकारले विपद् प्रभावित स्थानीय तहलाई राहत तथा उद्धार कार्यका लागि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले विपद् प्रभावित ४५ स्थानीय तहहरुलाई ५ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले गत असोज ११ र १२ गतेको वर्षाका कारण विपद्बाट प्रभावित भएका स्थानीय तहलाई ३ वर्गमा विभाजन गरी राहत तथा उद्धार कार्य गर्न रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा रकम अभाव रहेकाले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० करोड रुपैयाँ रकम निकासा गरेर सो मध्येबाट ५ करोड ८० लाख रुपैयाँ स्थानीय तहलाई उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले विपद्बाट बढी प्रभावित ७ स्थानीय तहलाई २० लाख रुपैयाँ, १२ वटा स्थानीय तहलाई १५ लाख रुपैयाँ र २६ वटा स्थानीय तहलाई १० लाख रुपैयाँ सोझै पालिकाको विपद् व्यवस्थापन कोषमा पठाउने निर्णय भएको मन्त्री लामिछानेले बताउनुभयो ।