नेपालीहरुको महान चाड दशैं सुरु भएको छ । बिहीबार घटस्थापना गरेसँगै दशैं सुरु भएको हो । शक्तिपीठ, कोतघर, दशैंकै लागि सामूहिकरुपमा बनाइएका देवीस्थल एवम् प्रायः घरघरमा जमरा राखेपछि दशैं सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन दशैं मनाइन्छ ।

आश्विन शुक्ल दशमीलाई दशैंको मुख्य दिन मानिए पनि घटस्थापनादेखि दशैं सुरु हुन्छ । घटस्थापनासँगै नौ दिनसम्म नवदुर्गा पूजा गरिन्छ, जसलाई नवरात्रि पनि भनिन्छ । नवरात्रिभर विभिन्न शक्तिका प्रतीक नवदुर्गाको पूजा तथा शक्तिपीठहरुको दर्शन गरिन्छ । प्रतिपदादेखि नवमीसम्म शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नौवटी देवीको पूजा आराधना गरिन्छ । यी देवीहरुलाई नवदुर्गाको नामले पनि चिन्ने गरिन्छ।

घटस्थापना अर्थात् प्रतिपदाका दिन शैलपुत्री, द्वितीयाका दिन ब्रह्मचारिणी र तृतीयाका दिन चन्द्रघण्टाको पूजा आराधना गरिन्छ । चतुर्थीका दिन कुष्माण्डा भगवती, पञ्चमीका दिन स्कन्दमाता र षष्ठीका दिन कात्यायनीको पूजा आराधना गरिन्छ । सप्तमी अर्थात् फूलपातीका दिन कालरात्रिको पूजा गरिन्छ भने अष्टमीका दिन महागौरीको पूजा गरिन्छ । नवरात्रिको अन्तिम नवमीमा सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नवरात्रिमा मंगल, राहु, वृहस्पति, शनि, बुध, केतु, शुक्र, सूर्य एवम् चन्द्रमालाई नवग्रहको रुपमा पनि शान्ति पूजा गर्ने चलन छ ।

दशैं नेपाल र नेपालीको राष्ट्रिय चाड हो । दशैंमा देवीको पूजामात्र हुँदैन, अन्य कार्यक्रम तथा समारोह पनि हुन्छ । यस वर्ष असोज १७ गते घटस्थापना गरिएको छ । शुक्रबार झण्डा फेर्ने कार्यक्रम हुनेछ । उक्त कार्यका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पश्चिम मोहडामा फर्किएर बिहान ९ः१४ बजेको साइत दिएको छ । यसैगरी, असोज २२ गते मंगलबार पचलीभैरब यात्रा र असोज २४ गते बिहीबार फूलपाती र तुलजा भवानी यात्राको कार्यक्रम निर्धारण गरिएको छ । २५ गते शुक्रबार महाअष्टमी र महानवमी परेको छ भने २६ गते शनिबार विजया दशमीका दिन विहान ८ः३३ बजे देवी विसर्जन गरेर टीका लगाउने उत्तम साइत विहान ११ः३६ बजे निर्धारण गरिएको छ ।


दशैं नेपालीको साझा राष्ट्रिय चाड हो । दशैं सबैभन्दा लामो बिदा दिइन्छ । दशैंमा घरबाहिर रहेका परिवारका सदस्यहरु घरमा जम्मा हुन्छन् । दशैंमा मिठोमसिनो खाने, नयाँ लुगा लगाउने, आफन्त तथा मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने, पिङ खेल्ने, शक्तिपीठहरुको दर्शन गर्ने परम्परा रहेको छ । पछिल्लो समय दशैंको समयमा विभिन्न ठाउँमा घुमफिर गर्ने चलन पनि बढ्दै गएको छ । दैत्यहरुसँग देवताले विजय प्राप्त गरेको खुशीयालीमा दशैं मनाउने चलन चलेको मान्यता छ । देवीदेवताको आराधना र पूजापाठ तथा परिवारका मान्यजन र आफन्तबाट टीका, आशीर्वाद र जमरा ग्रहण गरेर मनाइने दशैंको बहुआयामिक पक्ष रहेका छन् ।

दशैंले धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक सबै पक्षलाई प्रभाव पार्ने भएकाले यसलाई राष्ट्रिय चाडको रुपमा लिने गरिएको हो ।दशैं र यसपछि आउने तिहार, छठजस्ता महत्वपूर्ण चाडपर्व नेपालीले हर्षोल्लासका साथ मनाउँछन् । यस्ता चाडपर्व मनाउने क्रममा सुखद् र दुःखद् घटनाहरु हुने गरेका छन् । दशैं, तिहारको समयमा बजारमा किनमेल गर्नेको घुइँचो लाग्ने कारण ठग्ने र ठगिने सम्भावना उच्च रहन्छ । दशैं, तिहारमा सार्वजनिक यातायातका साधनमा यात्रुको चाप बढ्छ भने निजी सवारी साधन पनि प्रशस्त गुड्छन् । यातायात व्यवसायीले यात्रुसँग बढी भाडा लिने र क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाउने सम्भावना पनि उत्तिकै हुन्छ । चाडपर्वको समयमा समाजमा विभिन्न आपराधिक घटना हुनुको साथै मदिरा सेवन गर्ने र जुवातास खेल्नेजस्ता विकृति पनि देखिन्छन् ।

यसवर्षको दशैं सबैका लागि सुखद् बनोस् । सुखद्रुपमा चाडपर्व मनाउने वातावरण तयार गर्न सुरक्षा निकायसहित राज्यका अन्य निकाय विशेष चनाखो बन्नुपर्छ । यस्तो बेलामा व्यवसायीले पनि व्यावसायिक इमान्दारिता भुल्नु हुँदैन । आम सर्वसाधारणले पनि विशेष सतर्कता अपनाउनुपर्छ ।