हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । बिहीबार सामुदायिक प्रहरी सेवा केन्द्रको भवनमा पत्रकार सम्मेलन आयोजना गर्दै ११ नम्बर वडाका वडाध्यक्ष जुना दहालले शनिबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने जानकारी दिनुभएको हो ।
“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ विशेष कार्यक्रम गरेर वडालाई निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको वडा अध्यक्ष दहालले जानकारी दिनुभयो । वडाले बालमैत्री घोषणाको लागि करिब दुई वर्षदेखि विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
हेटौंडालाई बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गर्न २०७९ भाद्र ५ गते सरोकारवालाहरुको उपस्थितिमा प्रतिबद्धतामा हस्ताक्षर गरी भाद्र २४ गते नगर कार्यपालिकाबाट निर्णय गरिएको थियो । उक्त निर्णयअनुरुप ११ नम्बर वडाले २०७९ मंसिर २१ गते सरोकारहरुको उपस्थितिमा प्रतिबद्धतामा हस्ताक्षर गरी अभियानलाई आत्मासात गर्दै कार्यान्वयनको लागि प्रत्येक विद्यालय, टोल, समुदायमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको वडाध्यक्ष दहालले बताउनुभयो ।
नेपाल सरकारले निर्धारण गरेका बाल अधिकारका महत्वपूर्ण पक्षहरु बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताका लागि संस्थागत विकासका ५१ वटा सूचकहरु पूरा गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको अन्तिम तयारीको अवस्थामा पुगेका उहाँले बताउनुभयो । वडालाई बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले निर्धारण गरेका ५१ वटा सूचकहरुमा अभ्यास गरी ५१ सूचकमध्ये ४४ वटा सूचकमा शत प्रतिशत नतिजा प्राप्त भएको उहाँले जानकारी दिनुभयो । बाँकी सूचकमा ८० देखि ९९ प्रतिशतसम्म नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अवस्थामा आइपुगेको उहाँको भनाइ छ ।
सूचक पूरा भएको सन्दर्भमा सरोकारवाला निकायहरुसँग बसी अन्तरक्रिया, अनुगमन तथा समीक्षा गरिएकोमा हाल बालमैत्री स्थानीय शासन कार्यान्वयन तथा दिगोपना कायम गर्नका लागि अन्तिम सूचक मापनको प्रतिवेदन, स्थितिपत्र, वडाको पञ्चवर्षीय रणनीतिक योजनासमेत तयार भइसकेको अवस्था रहेको र जिल्लास्तरीय अनुगमन समितिबाट अनुगमनसमेत भएको बताइएको छ ।
घरधुरी सर्वेक्षण २०७९ अनुसार वडाको कुल जनसंख्या ११ हजार १ सय ५ रहेकोमा ५ हजार ४ सय ५१ महिला र ५ हजार ६ सय ५४ पुरुष रहेको वडाध्यक्ष दहालले बताउनुभयो ।
उहाँका अनुसार वडामा बालक १ हजार ७ सय ९८ र बालिका १ हजार ६ सय १९ गरी ३ हजार ४ सय १७ जना बालबालिका रहेका छन् । वडामा सामुदायिक र संस्थागत गरी ५ विद्यालयहरु सञ्चालनमा रहेको बताइएको छ । नेपाल सरकारले सबै स्थानीय तहलाई विसं २०८७ सालसम्म बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने लक्ष्य लिएको छ । शनिबार बिहान निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुअघि वडा कार्यालयको प्राङ्गणमा भेला भई बिहान १० बजे वृहत् प्रभातफेरीको आयोजना गरेर वडाको परिक्रमापश्चात् नवलपुर पार्टी प्यालेसको सभाहलमा घोषणा कार्यक्रम गर्ने जनाइएको छ ।