होमनाथ तिमल्सिना

मानव जीवनको सुरुवात जन्मबाट हुन्छ । जन्मसँगै जीवनमा हामीले हाम्रो संस्कार, रीति रिवाज, संस्कृतिलाई आधार मानेर जीवनचक्र अगाडि बढिरहेको हुन्छ । जन्म अनिश्चित छ । तर मृत्यु निश्चित छ । जन्म र मृत्युको बीचमा हाम्रो जीवन रहन्छ । भोगाई, सिकाई, बुझाई, गराई नै हाम्रो जीवन हो । हाम्रो विचार ज्ञान र अनुभवबाट सृजित, सिञ्चित हुन्छ । त्यसैले जीवनको परिभाषा फरक हुनसक्छ । जीवनको परिभाषा जे भए पनि जीवनलाई हामीले आफ्नो आफ्नो तरीकाबाट चलाउने अधिकार हामीमा नै निहित छ । राम्रो–नराम्रो, सुख–दुख, असल र खराब हाम्रा विचारहरूका उन्नति हुन् ।

जीवन घटना र परिघटनाले पूर्ण र सार्थक बन्छ । जन्म, संस्कार, शिक्षा, कर्म, प्रेम, विवाह, सन्तान, मृत्यु यी जीवनका अभिन्न अङ्गहरू हुन् । हामीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यी घटनालाई नजिकबाट नियाली रहेका हुन्छौं वा भोगी आएका हुन्छौं । आज हामी यी घटना र परिघटनाको एक अङ्ग विवाह र यसका बारेमा चर्च गर्नेछौं । विवाह गरेका नवदम्पतीलाई विवाह बन्धनमा बाँधिनु भएकोमा हार्दिक शुभकामना भन्ने चलन छ । यो दृष्टिकोणलाई केही परिमार्जन गर्नुपर्ने देखिन्छ । एक विवाह बन्धन होइन र अर्को चाहीँ बन्धनमा परेकालाई शुभभावना दिनु त्यति उचित होइन ।

विवाह जीवनलाई सहज र सरल बनाउने अभिप्रायले एक युगल बीच हुने समझदारी वा सहयात्राको सुरुवात हो । अनिश्चित जीवनमा अनिश्चित व्यक्तिहरूसँगको सम्बन्ध र भेट बन्दछ । यसलाई व्यवस्थित र ऊर्जावान् बनाउने कार्य निश्चित जीवन सहयात्री सँगको विवाहले हुन्छ । एक रूपको (समान जीवनयापनका) जीवनलाई निरन्तरता दिनका लागि विवाहले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । विवाहका प्रकारहरू छन् । छुट्टा–छुटै चलन तथा रीति थितिहरू पनि छन् । यी थितिहरूका बीचमा विवाह बन्धन भन्ने शब्द सारै चलेको शब्द पनि छ ।

हामीलाई जिज्ञासा हुनसक्छ । के वास्तवमा विवाह बन्धनै हो त ? हाम्रो व्यवहारिक जीवनमा हिजो चन्द्रमुखी, आज सूर्यमुखी र भोलि ज्वालामुखी भन्ने भावनाको विकास भएको पाइन्छ । यो हाम्रो व्यवहारिक कमजोरी हो । हामी सम्बन्धलाई आफ्नो अनुकूल मात्र सोचिरहँदा, आफूले मात्र भनेको भैदियोस् भन्ने भावनाको विकास हुँदा यस्तो अनुभूति हुने गर्दछ । सफल वैवाहिक जीवनको लागि प्रेम, प्रेरणा र विश्वास चाहिन्छ । प्रेम बिनाको विवाह सम्बन्ध चाहीँ बन्धन हुन्छ । पिँजडा हुन्छ । एउटा साँधुरो परिधि हुन्छ । यो निस्पट्ट अँध्यारो हुन्छ । यसमा विश्वास र विवेकको कमी हुन्छ ।

जब विवाह प्रेममा परिणत हुन्छ तब संसार झलमल्ल उज्यालो हुन्छ । एक–अर्काप्रति विश्वास हुन्छ । समर्पण हुन्छ । सद्भाव हुन्छ । सहयोगी भावना हुन्छ । एक अर्काका प्रेरक र प्रेरणा हुन्छ । आजभोलि विवाह गरेपछि स्वतन्त्र हुन पाइँदैन, परिबन्दमा परिन्छ, यो बन्धन हो, भन्ने भावनाको विकास भएको पाइन्छ । विवाह गर्नु, नगर्नु स्वतन्त्र अधिकार हो । विवाह गर्नु नै सबैथोक होइन । अनि विवाह नगरिकनै हुँदैन भन्ने पनि छैन । यो संसारमा विवाह नगरेकाले पनि सफलता, सुख, शान्ति र आनन्दको अनुभूति गरेका छन् । अनि विवाह गर्नेहरूले पनि सफलता, सुख, शान्ति र आनन्द अनुभूति गरिरहेका छन् ।

तर यसले बन्धनमा पार्छ भनेर विवाहै नगर्नु चाही अज्ञानता नै हो । विवाह नै नगरी सन्न्यास जीवन जिउन सक्नु धेरै ठुलो तपस्याको कुरा हो । त्यसैले हिन्दु संस्कारमा चार आश्रमको कुरा गरिएको छ । ब्रह्मचर्य आश्रम, गृहस्थ आश्रम, वानप्रस्थ आश्रम, सन्न्यास आश्रम । यी जीवन जिउने कलाका आधारमा निर्माण गरिएको हो । नेपाली चलन चल्तीमा मान्छे परिपक्व हुनका लागि एक घर बनाएको हुनुपर्छ अर्को चाही घरजम गरेको हुनुपर्छ । विवाह प्रेम र समर्पण हो । प्रेम नभए पनि विवाह हुन सक्छ तर विवाहपछि प्रेम अवश्य हुन्छ । भएन भने त्यो केही दिनको सम्बन्ध मात्र बन्ने छ ।

विवाह बन्धन बन्नु हुन्न, यो स्वतन्त्र हुनु पर्छ र विवाहले बन्धनै बनाउँछ भन्ने छैन । के यो समाजमा सबै महिला बन्धनमा परेका छन् ? यो मानिसको सोच र व्यवहारमा भर पर्ने कुरा हो । सम्बन्धहरूमा अपेक्षा हुन्छ के अपेक्षालाई बन्धन मान्न मिल्छ । असल संस्कारका केही परिधि हुन्छ के त्यसलाई बन्धन भन्न मिल्छ । जिम्मेवारीमा रहेपछि केही सीमित कर्तव्यहरू हुन्छन् । के त्यसलाई बन्धन भन्न मिल्छ ? एक अर्काको बन्धक होइन सहयात्रीको कर्तव्य निर्वाह हुनुपर्छ । आफूखुसी गर्न नपाउनु सबै बन्धन होइनन् यो हामी नेपाली समाजको मर्यादा हो। सुसंस्कार हो ।

विवाहले विकास र विश्वास पनि बढाउँदछ । यसले सहयात्रा र सहकार्यको भावना सृजित गराउँदछ । शंका होइन समर्पण हुनुपर्छ । विवाह सम्झौता होइन समझदारी हो । विवाह सम्झौता होइन सहयात्रा बन्नु पर्छ । प्रतिस्पर्धा होइन एक अर्काको प्रेरक बन्नु पर्छ । वैवाहिक सम्बन्ध आशीर्वाद बन्नुपर्छ, अभिशाप बन्न हुन्न ।